ओसाका र सेरेना फाइनलमा

न्युयोर्क । जापानकी नाओमी ओसाका र अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेरेना नवाँैपटक फाइनलमा पुगेकी हुन् भने ओसाका पहिलोपटक उपाधिनजिक पुगेकी हुन् ।

अमेरिकी म्याडिसन किजलाई पराजित गर्दै ओसाका पहिलोपटक फाइनलमा प्रवेश गरेकी हुन् । जितसँगै उनी कुनै पनि ग्रान्डस्लाम टेनिसको फाइनलमा प्रवेश गर्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

यसअघि, २० वर्षीया ओसाका किजविरुद्ध खेलेका ३ वटै स्पर्धामा सफल भएकी थिइनन् । तर, न्युयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा भने किजविरुद्ध उनले सोझो सेटमा जित हात पारिन् ।

ओसाकाले पहिलो सेट ६–२ ले आफ्नो पोल्टामा पारेकी थिइन् । किजले दोस्रो सेटमा लयमा फर्किने सम्भावना देखाए पनि ओसाकाका सामु उनी ६–४ ले स्तब्ध बनिन् ।

शनिबार उपाधिका लागि उनले २३ पटक ग्रान्डस्लाम उचालेकी सेरेनासँग खेल्नेछिन् । जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले खेलका दौरान आफूलाई सहज नभएको बताइन् । उनले भनिन्, ‘मैले सोचिरहेकी थिएँ कि, म वास्तवमै सेरेनासँग खेल्न चाहिरहेको छु । किनकि, उनी सेरेना हुन् ।’

यसअघि, बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सेरेनाले विश्व वरीयतामा १८औँ स्थानमा रहेकी लात्भियाकी अनास्तासिजा सिभास्तोभालाई सोझो सेटमा पाखा लगाउँदै अन्तिम २ मा स्थान बनाएकी थिइन् ।

चाखलाग्दो कुरा त के छ भने, सेरेनाले सन् १९९९ मा पहिलो ग्रान्डस्लाम हात पार्दा ओसाका मात्र एक वर्षकी थिइन् । सेरेनाले ६६औँ मिनेटसम्म चलेको सेमिफाइनलमा सिभास्तोभालाई ६—३ र ६—० को सोझो सेटमा पराजित गरिन् ।

प्रतिक्रिया