अब समस्या चिरफार गरौँ : पारस

काठमाडौं । एसिया कप छनोट प्रतियोगितामा सोचेअनुरूप प्रर्दशन गर्न नसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको समस्या चिरफार गर्नुपर्ने वेला आएको बताएका छन् ।

उपाधि जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपालले चौथो स्थानमा चित्त बुझाउनुपरेको थियो । प्रतियोगिता सकेर नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कप्तान पारसले हारको जिम्मेवारी टोलीका सिनियर खेलाडीले लिने बताए ।

साथै, उनले जिम्मेवारी लिएर मात्र नहुने, अब सबै समस्या एक–एक केलाएर समाधान गर्नुपर्ने वेला आएको बताएका छन् । कप्तान खड्काले अब क्रिकेटको फम्र्याटअनुसार खेलाडीलाई छुट्याउनुपर्नेमा समेत जोड दिए । ‘हामीले उपलब्ध भएका खेलाडीको उत्कृष्ठ टोली बनाएका थियौँ, तर प्रतियोगिताभरि नै हामीले सोचेअनुरूप खेल्न सकेनौँ ।

हामीले आफ्नो क्षमताको ४० प्रतिशत मात्र खेल्यौँ,’ उनले अगाडि भने, ‘अब लामो समयको लागि सोच्ने समय आएको छ । ट्रेनिङदेखि लिएर अब सबै कुरामा खेलाडीहरूको व्यक्तिगत खेल र टिमको नै पोस्टमार्टम गर्ने समय आएको छ ।’

नेपाली टोलीलाई अब विशेषज्ञ प्रशिक्षकको आवश्यकता रहेको बताउँदै खड्काले प्रतियोगिता सुरु हुनुभन्दा कम्तीमा ३ महिनाअघिबाट यस्ता प्रशिक्षक ल्याउनुपर्ने बताए ।

‘अब हामी एकदिवसीय राष्ट्र भएकाले पनि हामीलाई ब्याटिंग, बलिंग र फिल्डिंगमा प्रशिक्षकको खाँचो छ । हामीले अहिलेकै अवस्थामा समेत आउने ३ वर्षको लागि सोचेका छौँ र केही प्रस्ताव तयार गरेका छौँ, जुन छिटै नै आइसिसी र एसिसीसम्म पु¥याउने प्रयास रहनेछ ।’

कप्तान पारसले अब सबै खेलाडीलाई आ–आफ्नो रोल दिनुपर्ने वेला आएको समेत बताए । ‘हामीले अब ट्वान्टी–ट्वान्टी प्रतियोगिता खेल्दै छौँ, त्यसैले को ५० ओभरको लागि फिट छ र को २० ओभरको लागि भन्ने बुझाउन जरुरी छ ।’

सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको उप–क्षेत्रीय छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसँगै नेपालले एसिया ‘बी’ उप–क्षेत्रीय छनोट (पूर्वी) प्रतियोगितामा सहभागिता जनाउँदै छ । मलेसियामा अक्टोबरबाट सुरु हुने प्रतियोगितामा नेपालसहित म्यानमार, मलेसिया, थाइल्यान्ड, भुटान, चीन र सिंगापुर रहेका छन् ।

यू—१९ टोली घोषणा
भारतमा हुने यू—१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरूलाई नराखी केही नयाँ अनुहारलाई समेटिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को आयोजनामा १२ सेप्टेम्बरदेखि सुरु हुने मैत्रीपूर्ण श्रृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा भएको हो । नेपाली टोलीमा त्रिराज दास, रवि शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान छन् । यस्तै, भीम सार्की, कमलसिंह ऐरी, सुन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम छन् ।

भारतको कोलकाता र लखनउमा हुने श्रृंखलामा नेपाल यू—१९ सहित भारत यू—१९, अफगानिस्तान यू—१९ र भारतको नेसनल क्रिकेट एकेडेमी यू—१९ टिम सहभागी हुँदै छन् । लिग चरणमा सबैले एकअर्काविरुद्ध खेलिसकेपछि लिगको पहिलो र दोस्रो हुने टिमले १८ सेप्टेम्बरमा फाइनल खेल्नेछन् ।

खेलाडी छनोट आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक विनोद दास, राजु खड्का र सुनोज भट्टराईको टोलीले गरेको हो । नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।

प्रतिक्रिया