जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको समूह चरणको महत्वपूर्ण खेलमा नेपाल चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र बंगलादेशसँग भिड्दै छ । झन्डै उस्तै इतिहास बोकेका दुई राष्ट्र सेमिफाइनलमा स्थान बनाउन बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने ७ बजे प्रतिस्पर्धामा उत्रिँदै छन् ।

बंगलादेशको दुई खेलबाट ६ अंक छ भने नेपालको तीन अंक भएकाले जित नै अन्तिम चारमा पुग्ने एक मात्र विकल्प रहेको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले बिहीबार भुटानलाई ४–० गोलले हराएर सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

तर, बिहीबार नै भएको अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० गोलले हराएपछि नेपालमाथि दबाब परेको हो । बंगलादेशलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ । समूह ए मा रहेका पाकिस्तान र भुटान नेपाली समयअनुसार पौने चार बजे भिड्ने भएकाले सो खेलको नतिजाले नेपालले बंगलादेशसँग निकाल्नुपर्ने नतिजा स्पष्ट हुनेछ । पाकिस्तानले तुलानात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी भुटानसँग जित निकाले नेपालले बंगलादेशलाई हराउनुको कुनै विकल्प हुनेछैन ।

नेपालले पछिल्ला तीन खेलमा एकमा जित र दुईमा हार व्यहोरेको छ । भुटानविरुद्धको खेलमा पाँच वर्षपछिकै ठूलो अन्तरको जित निकालेको नेपालको मनोबल उच्च छ । नेपालले बिहीबार भुटानलाई हराएर २२ महिना र ८ खेलपछि पहिलो जित हात पारेको थियो । यसअघि, नेपालले अन्तिमपटक सन् २०१६ को अक्टोबरमा सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० गोलले हराएको थियो ।

यता, बंगलादेशले जारी प्रतियोगितामा पाकिस्तानलाई १—० र भुटानलाई २—० गोलले हराएको थियो भने मैत्रीपूर्ण खेलमा श्रीलंकालाई १—० ले पराजित गरेको थियो । त्यसअघि, गत मार्चको अन्त्यतिर भएको मैत्रीपूर्ण खेलमा बंगलादेश र लाओसबीच २—२ गोलको बराबरी भएको थियो । जारी साफ च्याम्पियनसिपअघि बंगलादेशले लगातार १२ खेलमा जित हात पार्न सकेको थिएन ।

जसमा ८ हार र चार बराबरीको नतिजा थियो । भुटानलाई हराएर उसले अन्तर्राष्ट्रिय फुटबलमा ३३ महिनापछि पहिलो जित हात पारेको हो । यसअघि बंगलादेशले अन्तिमपटक घरेलु मैदानमै आयोजित बंगबन्धु गोल्डकपमा श्रीलंकालाई ४—२ गोलले हराएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो उपाधि बंगलादेशलाई नै हराएर जितेको थियो । सन् १९८३ मा नेपालमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले फाइनलमा बंगलादेशलाई हराएर स्वर्ण जितेको थियो ।

साफ च्याम्पियनसिपको कुरा गर्ने हो भने नेपालले सन् २०१३ मा समूह चरणमा बंगलादेशलाई २—० गोलले हराएको थियो र पछि सेमिफाइनलमा स्थान पनि बनायो । त्यसयता बंगलादेश र नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक भिड्न लागेका हुन् । यद्यपि, त्यसपछि सन् २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपाललाई १—० गोलले हराएको थियो ।

सन् २०१६ मा आयोजित बंगबन्धु गोल्डकपमा नेपाल र बंगलादेशबीच भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । सन २०१३ मा नेपालमै आयोजित एएफसी च्यालेन्जकप छनोटमा नेपालले तीनमध्ये एक खेलमा हार व्यहोरेको थियो, जुन बंगलादेशसँग नै थियो ।

समूह चरणका दुई खेल सकिँदा बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल र पाकिस्तान समान ३ अंकसहित गोलअन्तरका कारण दोस्रो र तेस्रो स्थानमा छन् । भुटान भने सुरुआती दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया