हेर्न पो सुन्दर लाग्छ हिमाल !

हेर्न पो सुन्दर लाग्छ हिमाल
भोग्नेहरूलाई सोधेर हेर !
हिमाली जीवनका दुःखहरूमा
आफैँ पसेर खोजेर हेर !
हेर्न पो सुन्दर लाग्छ हिमाल !

गीत कविता कथामा पो,
क्या स्वर्ग बन्छन् गाउँघर !
कल्पना गर्न नै सुन्दर छन्
तोक्मा खर्पन र ढाकर !

भन्न नै सुन्दर हुन्छ गाउँ
आफैँ गई जिएर हेर !
बोकेर ढाकर फाटेको ज्यान
आफैँ बनेर सिएर हेर !
हेर्न पो सुन्दर लाग्छ हिमाल !

गाउँ नै सुन्दर थियो भने
सहर छिरेका मान्छे किन ?
ती लाखौँ लाख युवाहरू
छाडेर देश हिँडेका किन ?
हेर्न पो राम्रा भिर पहरा

आफैँ गएर के रहेछ खोज
सुखमा छन् कि दुःखमा छन्
भिर टाकुराका मान्छेलाई सोध !
हेर्न पो सुन्दर लाग्छ हिमाल !

प्रतिक्रिया