काउन्सिलमा डिभाइन लाइट

काठमाडौं । नेपाल र भारत बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ एकहप्ते कला प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘डिभाइन लाइट’ शीर्षकमा गरिएको प्रदर्शनीको आयोजना इमिनेन्ट आर्ट ग्यालरी दिल्लीले गरेको हो ।

प्रदर्शनीमा भारतीय कलाको परिदृश्यलाई नजिकबाट नियाल्न पाइएको कलाकार तथा कार्टुनिस्ट रवि मिश्रले बताए । उनले भने, ‘भारतीय कलामा देखापरेका विभिन्न शैली र चिन्तनमार्फत त्यहाँको पछिल्लो अवस्थालाई नियाल्न प्रदर्शनी निकै उपयोगी रहेको छ ।’

नेपालमा भारतीय कलाकारले रचना गरेका कलाकृति प्रदर्शनी गरी दुई देशबीच रहेको सदियौँ वर्षको सम्बन्धलाई जोड्ने काम गरेको प्रदर्शनीका क्युरेटर अबिद हुसैनले बताए । उनले भने, ‘हामीले विश्वको कला परिदृश्यलाई प्रदर्शनीमार्फत जोड्दै भाइचाराको सम्बन्धलाई नजिक ल्याउने काम गरिरहेका छौँ ।’ उनले प्रदर्शनीमा राखिएका कलामा भारतीय समकालीन कलाको समग्र अवस्थालाई अनुभूत गर्न सकिने धारणा व्यक्त गरे ।

प्रदर्शनीमा कलाकार अन्नु काल्रा, भारती आर्या, देवमित्र चक्रवर्ती, इन्द्रजित सिंह, किशोर शिर्खे, मो. इश्क, नेहा दउ, निधि भारती, पृथ्वी सोनी, प्रियंका सिक्दर, रश्मी रनादे, सचिकान्त झा, संगीता निगम, शिवलाल बगरिया र तारानुम अराका कलाकृति प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया