नगरलाई पाँच बालपुस्तक

गोरखा । विश्वमा बढ्दै गइरहेको तापक्रमका बारेमा लेखिएका पाँचवटा बालपुस्तक सार्वजनिक गरिएको छ । गोरखा नगरपालिकामा शुक्रबार आयोजित एक समारोहमा मेयर राजनराज पन्तले उक्त पुस्तकको विमोचन गरे ।

उनले वातावरणीय प्रभावलाई कम गर्न तथा त्यसमा सुधार ल्याउनका लागि बालबालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले युएनडिपीको सहयोगमा पुस्तक निकालिएको बताए । समाजलाईसचेत गराउँदै वातावरणीय प्रभावलाई न्यून गर्न बालबालिकाले विशिष्ट भूमिका खेल्ने बताउँदै उनले भने, ‘नगर क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयमा पुस्तक हस्तान्तरण गरिने छ ।’

कार्यक्रममा युएनडिपीका तर्फबाट राम सापकोटा र पुस्तकका लेखक प्रमोद प्रधानले पाँच सयप्रति पुस्तक मेयर पन्तलाई हस्तान्तरण गरेका थिए ।

भविष्यका कर्णधार तथा समाज सुधारका मुख्य सूचक बालबालिका भएकाले वातावरणीय महत्वलाई बचाउनका लागि पुस्तकले सहयोग गर्ने लेखक प्रधानले बताए ।

त्यस्तै, युएनडिपीका प्रतिनिधि सापकोटाले विश्वमा जलवायु परिवतर्नले पारिरहेको प्रभावले मानव जीवनमा परेको असरलाई न्यूनीकरण गर्न समेत बालबालिकाले समाजमा भूमिका खेल्न सक्छन् । उनले भने, ‘भविष्यका कर्णधार बालबालिकाबाट वातावरणका बारेमा जागरण ल्याउने कार्य सफल हुने भएकाले पुस्तक प्रकाशन तथा वितरण गरिएको हो ।’

साहित्यकार प्रमोद प्रधान, विजयराज आचार्य, मन्जु ज्ञवाली, अनन्त वाग्ले र गंगादेवी कसजुले लेखेका पुस्तक प्रदान गरिएको थियो । ‘इम्जाको झस्को’, ‘खैरो बकुल्ला’, ‘नागदहका माछा’, ‘रंगिन विष’ र ‘लिटिल डायनो’ रंगिन चित्र अंकित बाल पुस्तक युएनडिपीको सहयोगमा नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी साहित्यकार प्रधानले दिए ।

प्रतिक्रिया