अनलाइनबाटै बसटिकट

काठमाडौं । माउन्ट मकालु यातायातले अनलाइनबाट बसको टिकट काट्न पाइने पद्धति सुरु गरेको छ ।

कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकेटिङ सेवाको औपचारिक सुरुआत गरेको हो । अनलाइनबाटै यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेवसाइट माउन्ट मकालु डटकम वा बससेवा डटकम तथा बससेवाको मोबाइल एप्सबाट सिधै टिकट काट्न सक्ने छन् । सर्वसाधारणले अनलाइनमार्फत बसको टिकट जहाँसुकै ठाउँबाट काट्न सक्नेछन् ।

बससेवा अनलाइन मोबाइल तथा इन्टरनेटमार्फत बसको टिकट काट्न सकिने सरल माध्यम हो । बससेवामार्फत यात्रुले आफू जाने गन्तव्यमा आफूलाई मन परेको बस र सिट रोजेर यात्रा गर्न सक्ने व्यवस्था राखिएको छ ।

नेपालको पूर्वी क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको हो । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई टिकट काट्न सहज होस् भन्ने उद्देश्यले माउन्ट मकालु यातायात प्रालिले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरु गरेको हो ।

अनलाइन टिकेटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका भद्रपुर, काँकडभिट्टा, बुधबारे, ताप्लेजुङ विराटनगर र जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ । विदेशमा मात्र नभएर नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेकोले हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडि बढिरहेका वेला यातायात क्षेत्रलाई पनि प्रविधिमैत्री बनाई यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले अनलाइन टिकेटिङको सेवा सुरु गरेको माउन्ट मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले बताए ।

यसैगरी, ई–सेवाको वेवसाइट तथा मोबाइल एप्लिकेसनबाटसमेत टिकट काट्न सकिनेछ । ई–सेवा एकाउन्ट नभएका यात्रुले ई–सेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ । साथै, निकट भविष्यमा आइएमई पे, ई–प्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ । करिब २२ वर्ष अगाडि स्थापना भएको माउन्ट मकालु यातायात प्रालि पूर्वी नेपालमा यात्रुहरूको पहिलो रोजाइको यातायात कम्पनीको दाबी छ । यो अवधिसम्म ५२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेकोे छ ।

अनलाइन टिकटिङ सेवाको औपचारिक सुरुआतको अवसरमा माउन्ट मकालु यातायात सेवा प्रालिले अनलाइन टिकटमा १० प्रतिशत क्यास ब्याक योजनाको घोषणा गरेको छ । यो योजना ५ असोजसम्म लागू हुने कम्पनीले जनाएको छ । बस सेवाले हाल मुलुकका प्रमुख गन्तव्य तथा रुटमा आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ । बससेवा यात्रुका लागि घरबाटै टिकट काट्न सकिने र यातायात व्यवसायीलाई टिकट व्यवस्थापनका लागिसमेत अत्यन्तै उपयोगी र अपरिहार्य प्रविधि बनेको छ ।

प्रतिक्रिया