हचुवामा करः डा. कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले हचुवामा कर लगाइँदा देशभरि हंगामा मच्चिएको बताएका छन् ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । कर प्रशासनका विज्ञसमेत रहेका डा. कँडेलले भने, ‘कर ज्यादै संवेदनशील चिज हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रूपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।’ हचुवाका भरमा करका दर निर्धारण नगरी, अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनुपर्ने उनको धारणा छ ।

उपाध्यक्ष कँडेलले देशलाई कस्तो बनाउने भन्ने कुरा स्थानीयतहको कार्यशैलीमा भरपर्ने बताउँदै कसरी साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यानदिन आग्रह गरे । उनले करले देशभरि हंगामा सिर्जना भएको बताउँदै पछिल्लो समय सिर्जना भएको कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तीय आयोगले अध्ययन गरी राखेको पनि बताए ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणसमेत गरे । सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्गको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजनाहरू समयमै सुरु गरेर सम्पन्न गरिनुपर्ने उनको भनाइ थियो ।

मध्यपहाडी लोकमार्गको हेटौंडा–चतरा खण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले सो परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरत पर्ने बताए । उनले सिन्धुलीको समृद्धिसँग जोडिएका यी परियोजनाहरूले समग्र सिन्धुलीको मात्र नभई प्रदेश–२ समेत विकास भई देशको आत्म निर्भरतामा टेवा पुग्ने बताए ।

हेटौंडा–चतरा खण्डको मरिणखोला पुलको अवलोकन गर्दै उपाध्यक्ष कँडेलले योजनाहरू सुरु गर्ने र वर्षौंसम्म नबन्ने प्रवृत्ति तोड्दै मरिण खोलामा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

उनले राष्ट्रिय योजना आयोगले राष्ट्रिय महत्वका योजना मात्र हेर्ने बताउँदै प्रदेशमा योजना आयोग गठन भइसकेको र स्थानीयतहले पनि योजनालाई महत्वका साथ काम गरिराखेकोले अवका दिनमा आवश्यकता र महत्व हेरेर विकास परियोजनाहरू निर्माण हुने बताए । उनले योजना आयोगले सिन्धुली जिल्लामा के–के गर्नुपर्ने हो छलफल गरेर योजनाबद्ध आधिकारिक कुरा आए नेपाल सरकार, राष्ट्रिय योजना आयोगले सहयोग गर्ने बताए ।

प्रतिक्रिया