चीनका बन्दरगाहमा नेपालको पहुँच

काठमाडौं । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारका लागि चीनका सबै बन्दरगाह सहज रूपमा प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) को तेस्रो बैठकले सो सम्बन्धी मस्यौदालाई अन्तिम रूप दिएको हो ।

हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको छ । सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तेइन्जिन, सान्झेन, लियानयुगाङ र झान्झेनलगायत खुला सामुद्रिक बन्दरगाह र लान्झाउ, ल्हासा, सिगात्सेलगायत सुख्खा बन्दरगाहमा सहज पहुँच हुनेछ ।

बैठकले उक्त बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायत पारवहनसम्बन्धी प्रोटोकलको मस्यौदालाई अन्तिम रूप दिएको हो ।

उक्त मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूले जानकारी दिए । भारतको कोलकाता बन्दरगाह नेपालले प्रयोग गर्दा सीमित मार्ग छ । चीनसँगको पारवहन सम्झौतानुसार चीनका सबै मार्ग नेपालले प्रयोग गर्ने कार्यविधिमा उल्लेखित छ ।

यही, भदौ १९ देखि २१ गतेसम्म चलेको बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव सैंजू र चिनियाँ पक्षको नेतृत्व यातायात सेवा विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ सुइपिङले गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट उद्योग, परराष्ट्र, कानुन न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, नेपाली दूतावास (बेइजिङ) लगायत पदाधिकारीको सहभागिता रहेको थियो । त्यस्तै, चिनियाँ पक्षबाट यातायात र परराष्ट्र मन्त्रालय, इन्जिनियरिङ सुपरभिजन विभाग, नेसनल रेल्वे एडमिनिस्ट्रेसनलगायत सम्बन्धित निकायका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया