किमलाई अझै पनि ट्रम्पमाथि विश्वास

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले अझै पनि आफूलाई ट्रम्पमाथि पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।

त्यसैले उनले ट्रम्पको पहिलो कार्यकालमै कोरियाली प्रायद्विपको निःशस्त्रीकरण प्रक्रिया पूरा गर्ने चाहनासमेत व्यक्त गरेको प्योङयोङस्थित दक्षिण कोरियाली अधिकारीहरूले बताएका हुन् । यस मुद्दाको सहमति प्रक्रियामा पछिल्लो समय धेरै कठिनाइहरू आइरहेको भए पनि उत्तर कोरिया आफ्नो वचनबाट पछि नहट्ने किमको भनाइ छ । बुधबार किमसँग भेटवार्ता गरेको दक्षिण कोरियाली टोलीका प्रमुख प्रतिनिधि छङ उन योङले सो जानकारी दिएका हुन् ।

छङका अनुसार उत्तर कोरियाले निःशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन प्रभावकारी कदम उठाउने तयारी गरिरहेको छ तर त्यसका लागि अमेरिकी पक्षबाट पनि उत्तिकै प्रयास हुनुपर्ने किमले बताएका हुन् । त्यसैगरी, किमले राष्ट्रपति ट्रम्पका बारेमा आफूले कहिल्यै कसैसँग नराम्रो कुरा नभनेको समेत स्पष्ट पारेका हुन् । यसका साथै उनले दक्षिण र उत्तर कोरियाबीच जारी ७० वर्ष लामो युद्धलाई समाप्त गर्ने चाहना पनि व्यक्त गरेको बताइएको हो ।

राष्ट्रपति मुन जे इन र किमबीच पहिलोपटक सेप्टेम्बर १८ देखि २० सम्म प्योङयोङमा भेटवार्ता हुने तय भएको छ । यसै तेस्रो भेटवार्ता कार्यक्रमको तयारीबारे थप छलफल गर्न छङ अन्य प्रतिनिधिका साथ उत्तर कोरिया पुगेका थिए । यसरी १० वर्षपछि पहिलोपटक तत्कालीन दक्षिण कोरियाली राष्ट्रपतिले प्योङयोङ भ्रमण गर्ने भएका हुन् । दुवैबीच यो तेस्रो भेटवार्ता हुनेछ ।

उत्तर कोरियाको आधिकारिक सञ्चार, केसिएनएले पनि छङको भ्रमणबारे खबर गर्दै उनले मुनको पत्र किमलाई दिएको बताएको हो । केसिएनएका अनुसार किम अझै पनि आफ्नो संकल्प पूरा गर्ने विषयमा दृढ छन् र चाँडै नै सकारात्मक नतिजा पनि देखापर्नेछ । यसका साथै सिओल र प्योङयोङ दुवैले कोरियाली प्रायद्विपको स्थायी शान्तिका निम्ति निःशस्त्रीकरण प्रक्रियामा जोड दिने पनि उल्लेख गरिएको हो ।

त्यसैगरी, उत्तर कोरियाले अब निश्चित रूपमा कोरियाली प्रायद्विपबाट युद्धको खतरालाई सधैँका लागि हटाउँदै हतियाररहित सुरक्षित र शान्तमय वातावरण सिर्जना गर्नेतर्फ मात्र लाग्ने प्रतिबद्धता कुनै पनि हालतमा पूरा गर्न चाहेको समेत केसिएनएले जनाएको छ ।

पछिल्लो हप्ता उत्तर कोरिया र अमेरिकाबीचको वार्तामा अवरोध आएपछि सिंगापुर सम्झौता रद्द हुन सक्ने र प्योङयोङले पुनः हतियारको काम जारी राख्ने खतरासमेत उत्पन्न भएको थियो । ट्रम्पले विदेशमन्त्री पोम्पेओको भ्रमण रद्द गराएदेखि नै दुवै पक्षमा विवाद सुरु भएको थियो । तर, दक्षिण कोरियाली अधिकारीहरूसँगको छलफलपछि भने अमेरिकी वार्ताले पनि सकारात्मक दिशा प्राप्त गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया