मेयर जेलचलान, नगर लथालिंग

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा काँसी तिवारी हत्या काण्डमा जेल गएपछि सो नगरपालिका लथालिंग बन्दै जान थालेको छ ।

पछिल्लोसमय कटहरिया नगरपालिकामा एकै पार्टीबीच विश्वासको संकट गहिरिएपछि नगरपालिका सञ्चालनमा समस्यासमेत उत्पन्न हुन थालेको छ ।

जनप्रतिनिधिबिच नै एकले अर्कालाई समाप्त पार्ने खेल सुरुभएसँगै कटहरिया नगरपालिकाकी कार्यवाहक मेयर नुरजहाँ खातुनलाई बुधबार कार्यपालिका बैठकले निलम्बन गर्ने बहुमतले निर्णय नै गरेको छ । निलम्बन गरेर छानबिन गरी कारबाही गर्नका लागि कार्यपालिकाको बहुमत पदाधिकारीहरूले बुधबार निर्णय गरेसँगै कटहरिया नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको हो ।

कार्यपालिकाको बैठकले कार्यवाहक मेयर खातुनले लाखौँ रुपैयाँ अनियमितता गरी अनावश्यक रूपमा कार्यालयलाई लथालिंग बनाएको भन्दै निलम्बन गरेर छानबिन गरी कारबाही गर्न कार्यपालिकाको बहुमत सदस्यको हस्ताक्षर सहितको पत्र सम्बन्धित निकायमा पत्राचारसमेत गरेको छ ।

कटहरिया नगरपालिकामा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित उपमेयरलाई सोही दलका कार्यपालिका सदस्यहरूले निलम्बित गरेपछि विवाद सतहमा आएको हो । १९ सदस्यीय कार्यपालिकाका १४ सदस्यले कार्यवाहक मेयरको जिम्मेवारीमा रहेकी नुरजाँहा खातुनलाई निलम्बन गरेपछि उनले नगरपालिकाको चार करोड रुपैयाँ हिनामिना गर्न नपाएको झोकमा आपूmमाथि झूटो आरोप लगाएर आफूलाई निलम्बन गर्न खोजिएको बताएकी छन् ।

उनले नगरसभा चाँडै गर्नका लागि बोलाइएको कार्यपालिकाको बैठकमा प्रदेश सांसद कुन्दन कुशवाहाका समर्थकले घेराहालेर धम्काउँदै जबर्जस्ती निर्णय गराएको आरोपसमेत लगाएकी छन् । कार्यबाहक मेयर त्यसमाथि पनि महिलालाई सार्वजनिक स्थलमा गाली बेइज्जत गर्ने गरेको उनले बताइन् ।

आफूले एक पैसा भ्रष्टाचार नगरेको र भ्रष्टाचार गरेको प्रमाण पुर्याउन उनले चुनौतीसमेत दिएकी छिन् । ‘जसले ममाथि यस्तो संगीन आरोप लगाएको छ, प्रमाण पुर्याएर आउन् म सहजै कुर्सी त्याग्न तयार छु,’ उनले भनिन् ।

कार्यबाहक मेयरलाई कोमामा पुर्याउने षड्यन्त्र रच्ने अनि नगरपालिकाको रकममा चलखेल गर्ने सपना देख्नेहरूले ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताइन् ।

स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्दा कुनै सुनुवाई गर्दैनन् उल्टै घरभित्रै बस्नुहोस् भन्ने जवाफ दिन्छन्, उनले भनिन् । कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दनप्रसाद कुशवाहले उपप्रमुखले आफूहरूलाई काम गर्न नदिएको आरोप लगाए ।

उनले उपमेयरले बजेट विनियोजनदेखि कार्यालय सञ्चालनको बजेट एकलौटी खर्च गर्ने गरेको आरोप लगाउँदै कार्यपालिकाले उनको बदमासीको अन्त्य गर्न महाअभियोग लगाउने निर्णय गरेको बताए ।

कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले कार्यपालिकाको बैठकमा एक्कासि प्रदेश सांसद कुन्दन कुशवाहाले सयौँ व्यक्तिलाई लिएर आएको र आफूलाई गालीगलौजका साथै हातपात गरेर जबर्जस्ती कारबाहीका लागि पत्र लेख्न लगाएको आरोप लगाए । उनले कार्यालयमा आएर जथाभावी बोल्ने र हातपात गर्ने अधिकार कसैसँग नरहेको बताउँदै दोषिमाथि कारबाही गर्नुपर्ने र आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया