लयमा फर्किंदै जोकोभिच

न्युयोर्क । पूर्व विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । रोजर फेडेररलाई हराएर क्वार्टरफाइनलमा आएका जोन मिलम्यानलाई हराउँदै सर्बियन जोकोभिच अन्तिम चारमा पुगेका हुन् ।

छैटौँ वरीयताका ३१ वर्षे जोकोभिचले ५५औँ वरीयताका अस्ट्रेलियन मिलम्यानलाई सोझो तीन सेटमा पराजित गरे । पहिलो सेट ६–३ ले जितेका उनले दोस्रो सेटमा ६–४ को जित निकाले । तेस्रो सेटमा पनि जोकोभिचले ६–४ को सेटमा हराउँदै पुरानै लय देखाए । दुईपटक च्याम्पियन भइसकेका जोकोभिचले फाइनल प्रवेशका लागि जापानका केई निसिकोरीसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

जोकोभिचले सन् २०११ र २०१५ मा युएस ओपनको उपाधि जितेका थिए । उनले यसअघिको प्रतियोगितामा भने कुहिनाको चोटका कारण खेलेका थिएनन् ।

यसैबीच, जापानका निसिकोरी वर्षको चौथो ग्रान्डस्लाम युएस ओपनको अन्तिम चारमा पुगेका छन् । न्युयोर्कको अत्यधिक गर्मीका बीच ४ घण्टा ८ मिनेटसम्म चलेको खेलमा निसिकोरीले सातौँ वरीयाताका मारिन सिलिकलाई पाँच सेटमा स्तब्ध बनाएका हुन् । पहिलो सेट २–६ ले गुमाएका निरिकोरीले दोस्रो र तेस्रो सेट क्रमशः ६–४ र ७–६ ले जिते । चौथो सेट ४–६ ले गुमाएका निसिकोरी पाँचौँ तथा अन्तिम सेटमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया