चितवनमा एन्फा रेफ्री तालिम

चितवन । मोफसलमा नै पहिलोपटक चितवनमा अखिल नेपाल फुटबल संघ (एन्फा) रेफ्री तालिम सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा एन्फाको प्रवद्र्धनमा एकहप्ते रेफ्री कोर्स सुरु गरिएको हो ।

बिहीबारदेखि सुरु भएको तालिममा काठमाडौं, चितवन, धादिङ र नवलपरासीका तीन महिलासहित २५ जनाको सहभागिता छ । तालिमको उद्घाटन गर्दै प्रदेश—३ का सांसद मिलनबाबु श्रेष्ठले जिल्लामा आयोजना भएको तालिमले फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रशिक्षार्थीहरूलाई सात दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा प्रशिक्षण दिइनेछ ।

एन्फाका पूर्वरेफ्रीहरू श्रीराम रञ्जितकार, शैलेश जोशी, लव खत्री, रोजेन श्रेष्ठ र वीरेन्द्र पाण्डेले प्रशिक्षार्थीहरूलाई तालिम दिने चितवन फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

प्रशिक्षणपश्चात् प्रशिक्षार्थीहरूको परीक्षा लिएर पास हुनेहरूलाई एन्फा रेफ्रीको लाइसेन्स प्रदान गरिने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।

प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक तालिम भरतपुर ब्यारेकभित्र तथा सैद्धान्तिक तालिम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा गराइनेछ ।

प्रतिक्रिया