भुटानमाथि नेपालको ४–० को फराकिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले २२ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा जित निकालेको छ । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको हो । भुटानमाथि नेपालको यो लगातार १३औँ जित हो ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सीमित भुटानमाथि ४–० गोलअन्तरको जित निकाल्न सफल भयो । प्रशिक्षक बालगोपाल महर्जनले प्लेइङ इलाभेनमा महत्वपूर्ण परिवर्तन गर्दै नियमित कप्तान विराज महर्जन तथा स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवासलाई बेन्चमा राखेर ।

दिनेश राजवंशी, विशाल राई र सुनील बललाई खेलाएका थिए । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको अन्तिम २० मिनेटमा थप ३ गोल गरेको थियो । प्रतियोगितामा नेपालको यो पहिलो जित पनि हो ।

खेलको २१, ७१, ७९ र ८८औँ मिनेटमा गोल गर्दै नेपालले आठ खेलपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालले पहिलो गोल २१औँ मिनेटमा हेडमार्फत लिएको थियो । सुनील बलको कर्नरमा अनन्त तामाङले उत्कृष्ठ गोल गरेका थिए ।

सुनीलले गरेको कर्नर प्रहारमा तामाङले सिक्स यार्ड सर्कलबाट हेडमार्फत गोल गरेका हुन् । पहिलो हाफमा नेपालले भुटानलाई निरन्तर दबाबमा राखे पनि थप गोल गर्न सकेन । यसबीच नेपालले करिब आधा दर्जनभन्दा बढी अवसर खेर फालेको थियो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालका लागि ७१औँ मिनेटमा सुनीलले गोल गर्दै दोहोरो अग्रता बनाएका थिए । नेपाली खेलाडीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई विमल घर्तीमगरले गोलमा परिणत गर्न नसकेपछि आएको रिबाउन्डमा सुनीलले गोल गरेका हुन् । विमलको प्रहार भुटानका गोल किपर छिरिङ देन्डुपले रोकेका थिए ।

६८औँ मिनेटमा निराजन खड्कालाई लडाएपछि निमा वाङ्दी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भुटानलाई त्यसपछि नेपालले झनै दबाबमा राखेको थियो । खेलमा ६३ प्रतिशत पोजिसन आफ्नो पक्षमा बनाएको नेपालले दोस्रो गोल गरेको ६ मिनेटमै तेस्रो गोल गरेको थियो ।

सब्सिच्युटका रूपमा अन्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले ७९औँ मिनेटमा उत्कृष्ठ गोल गरेका हुन् । उनले एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याप्दै गोल गरे । लगातार भुटानी पोस्टमा आक्रमण गरेको नेपालका करिब एक दर्जन प्रहार भुटानका गोलकिपरले बचाएका थिए ।

तर, खेलको ८८औँ मिनेटमा ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका निराजनले हेडमार्फत गोल गर्दै नेपाललाई चार गोलको अग्रता दिलाउन सफल भए । सुनीलको प्रहारमा उनले हेडमार्फत गोल गरेका हुन् ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अंक पनि हासिल गरेको छ । जितपछि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले आफ्नो टिम सेमिफाइनल पुग्ने दाबी गरे । उनले भने, ‘आजको खेलमा प्राप्त जितमा हामी खुसी छौँ । आज हामीले खेलअगाडि जुन योजना बनाएका थियौँ, त्यो सबै मैदानमा पूरा गर्न सफल भयौँ ।’

हारसँगै भुटान भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब लिग चरणको अन्तिम खेलमा आयोजक बंगलादेशसँग शनिबार खेल्नेछ । यसअघि, नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–२ गोलले पराजित भएको थियो ।

यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाँच वर्षयताकै सबैभन्दा फराकिलो जित हात पारेको छ । यसअघि, सन् २०१३ को मार्चमा नर्दन मारियाना आइल्यान्डसँग भएको खेलमा नेपाल ६–० गोलले विजयी भएको थियो । त्यसयता नेपाल ३ गोलअन्तरभन्दा बढीले विजयी भएको थिएन । यसबीचमा नेपालले मालदिभ्सलाई ४–१ र ब्रुनईलाई ३–० गोलले हराएको थियो ।

साथै, यो नेपालको २२ महिनापछिको पहिलो अन्तर्राष्ट्रिय जित पनि हो । अन्तिमपटक सन् २०१६ को अक्टोबरमा सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० गोलले हराएको थियो । त्यसयता नेपालले खेलेका ८ खेलमा ६ हार र २ बराबरीको नतिजा निकालेको थियो । नेपाल पछिल्ला खेलमा यमन र फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो भने फिलिपिन्स, भारत, ताजकिस्तान, यमन र थाइल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया