९५ हलमा रोज

काठमाडौं । लभस्टोरी क्राइम जनरामा निर्माण भएको चलचित्र ‘रोज’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउने भएको छ । यो चलचित्र मुलुकका ९५ वटा मल्टिप्लेक्सदेखि सिंगल थिएटरका प्रायः हलमा प्रदर्शन हुँदै छ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रलाई गोपीकृष्ण मुभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेका हुन् । सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफूले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् ।

वितरक गोविन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योतिबाहेक सबै सिंगल र मल्टिप्लेक्स हलमा ‘रोज’ प्रदर्शन हुँदैछ । उनका अनुसार चलचित्रले काठमाडौंका क्युएफएक्समा शुक्रबार १५ वटा सो पाएको छ ।

काठमाडौंबाहिर सबैजसो हलमा लाग्ने चलचित्र अझै बढी हलमा थपिन सक्ने मोफसलका वितरक मनोज राठीले जनाए ।

रोजमा अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका छ । त्यस्तै, चलचित्रमा कर्मा शाक्य, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, वरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुसाल, प्रदीप दाहाल लगायतका कलाकारको अभिनय छ ।

अभिनेता प्रदीपले रोजमा विगतको भन्दा फरक ढंगले काम गरेको बताए । उनले भने, ‘एउटा सामान्य व्यक्ति कसरी सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवश भयो भन्ने भूमिकामा दर्शकले मलाई यस फिल्ममा पाउनुहुनेछ ।’

अभिनेत्री मिरुनाले चलचित्रले रमाइलोसँगै सामाजिक कथालाई रोचक ढंगले देखाएको बताइन् । अर्की अभिनेत्री परमिताले चलचित्रमा आफू मोडलको भूमिकामा रहेको जनाइन् ।

आक्रामक ढंगले प्रचार प्रसारमा जुटेको चलचित्र निर्माण टिमले एक सातासम्म मोफसलका आठ सहरमा कन्सर्ट गरेर काठमाडौं फर्किएको थियो ।

अभिनेता प्रदीप, अभिनेत्रीद्वय मिरुना, परमिता लगायतका कलाकारले बुधबार र बिहीबार राजधानीका विभिन्न स्थानमा कन्सर्ट गरे । उद्धव पौडेलको प्रस्तुति रहेको रोजलाई मणीकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेका हुन् ।

चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया