पेरिसमा पुनमको फेसन सो

काठमाडौं । फेसन डिजाइनर पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तर्राष्ट्रिय मोडललाई र्याम्पमा उतार्ने भएकी छन् । चलचित्र निर्मात्रीसमेत रहेकी पुनमले अमेरिकाको न्युयोर्क र बेलायतको लन्डनपछि पेरिसको फेसन सोमा प्रस्तुत हुन लागेकी हुन् ।

सेप्टेम्बर १२ मा एसएम ग्लोबलले आयोजना गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’ मा उनले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्ने जनाएकी छन् ।

‘उनले भनिन्, न्युयोर्क र लन्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेसन सोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु ।’

पश्चिमा पहिरनमा नेपाली संस्कृतिको संयोजन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने आफ्नो लक्ष्य भएको पुनमले बताइन् । दुई दिनसम्म चल्ने उक्त फेसन सोमा सहभागी हुन पुनम सेप्टेम्बर १० मा पेरिस जाँदैछिन् । उक्त सोमा उनले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् । सोमा दर्जनभन्दा बढी देशका फेसन डिजाइनरको उपस्थिति हुने उनले जानकारी दिइन् ।

फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्ने तयारी गरेको जनाउँदै उनले भनिन्, ‘सोमा पहिरनसँगै स्टल पनि रहने छ । जसमा नेपाली स्वाद दिने पहिरनसमेत बिक्रीका लागि राखिने छ ।’ फेसन सोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति रहने उनले जनाइन् ।

पेरिसपछि उनले दुबईमा समेत फेसन सो गर्ने तयारीमा छिन् । अन्तर्राष्ट्रिय फेसन सोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन् । ‘भविष्यमा म नेपालमा फेसन कलेज र इन्स्टिच्युट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेसनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’ पुनमले भनिन्, ‘युके, नर्वे, अमेरिका, जापान लगायतका देश घुम्दा त्यहाँका जनता नेपालबारे अनविज्ञ रहेको पाएँ । यो अवस्थामा म नेपाली संस्कृतिलाई फेसनमार्फत चिनाउन चाहन्छु ।’

त्यस्तै, उनको आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै बृहत् अन्तर्राष्ट्रिय फेसन सोको आयोजना गर्ने तयारी गरिरहेको छ । पेरिसको फेसन सोपछि उनी अर्को वर्ष दुबईमा पनि फेसन सो गर्दैछिन् । ‘अझै पनि’ बाट चलचित्र निर्माणमा हात हालेकी पुनम चाँडैले नै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा छिन् ।

प्रतिक्रिया