पर्यटकको पर्खाइमा बराह ताल

म्याग्दी । पर्यटकीय सम्भावना बोकेको बराह ताल ओझेलमा परेको छ । जलजला गाउँपालिका–२ पुरानो गाउँस्थित बराह ताल पूर्वाधार,

संरक्षण र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो । बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीयवासीले सक्रियता देखाएका छन् ।

समुद्री सतहदेखि १ हजार ९ सय ५० मिटरको उचाइमा अवस्थित बराह ताल ३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा रहेको स्थानीयवासी शिव अधिकारीले बताए ।

यहाँबाट पर्वत, म्याग्दी र बागलुङका विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । नजिकै रहेको बाँसखर्कमा पर्यटकको चहलपहल बढे पनि बराह ताल भने सुनसान छ ।

तालको विशेषताबारे प्रचारप्रसार नहुँदा उक्त क्षेत्र ओझेलमा परेको हो । सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराह ताल पुगिन्छ । सो ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने बाँसकर्खको नजिकै रहेको छ ।

अंग्रेजीको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । जलजला गाउँपालिकाको सबैभन्दा ठूलो यो ताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागिसमेत उपयोग गरिएको छ ।

जनैपूर्णिमामा बराह तालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको विद्याज्योति माविका शिक्षक जीवन कार्कीले बताए । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न श्रद्धालुहरू त्यहाँ जाने गरेका छन् ।

मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बली चढाउने चलन छ । तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती, क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुलमन्दिर छ । केही वर्षयता सरकारी निकाय र स्थानीयवासीको पहलमा ताल संरक्षणको प्रयास भएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङ, सिँचाइ विकास डिभिजन कार्यालय पर्वत र वडा कार्यालयको सहयोगमा स्थानीयवासीले ताल परिसरमा पक्की पर्खाल निर्माण गरेका छन् । त्यहाँ १ सय ५४ मिटर पक्की पर्खाल लगाइएको बराह ताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर केसीले बताए ।

थप ७५ मिटर पर्खाल निर्माण गर्न बाँकी छ । गतवर्ष सरकारी निकायबाट १६ लाख बजेट प्राप्त भएको केसीले बताए । गाईभैँसीले तालमा फोहोर गर्ने समस्या रोकिएको छ । ताल परिसरमा सुरक्षाका लागि भित्री भागमा तारजाली तथा बाहिरी भागमा घेरबार लगाउनुपर्ने आवश्यकता रहेको वडाध्यक्ष गोविन्द खत्रीले बताए ।

प्रतिक्रिया