ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल र बंगलादेशबीच भएको ऊर्जा आदान–प्रदानसम्बन्धी द्विपक्षीय समझदारी दुवै देशका लागि उपयोगी भएको बताएका छन् ।

बंगलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री पुनले दुई देशबीचको ऊर्जा आदान–प्रदानसम्बन्धी समझदारीले एउटा नयाँ अध्याय सुरु गरेको बताएका हुन् । उनले त्यसलाई क्रमशः कार्यान्वयनमा लैजाँदै लक्ष्य हासिल गर्नुपर्ने बताए । नेपालमा ऊर्जाको अपार स्रोत रहेकाले त्यसको विकास र विस्तारमा एकअर्काले मिलेर काम गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए ।

मन्त्री पुनले नेपालमा लामो समयपछि राजनीतिक स्थायित्व कायम भएको, दुईतिहाइ प्राप्त सरकार निर्माण भएको र आर्थिक समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिए । बंगलादेशका लगानीकर्ता र ऊर्जा उद्यमीलाई नेपालको ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।

यही १४ र १५ भदौमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनले बिम्स्टेक ग्रिड निर्माण गर्ने विषयमा सहमति गरेकाले क्षेत्रीय रूपमा विद्युत् आदान–प्रदानको मार्गप्रशस्त भएको मन्त्री पुनको भनाइ थियो । सो क्रममा उनले भने, ‘क्षेत्रीय सहकार्यका ढोकाहरू खुलेका छन्, यसबाट हामी सबैले फाइदा लिन र यस क्षेत्रको विकास र समृद्धिको मार्गप्रशस्त गर्न लाग्नुपर्दछ ।’

दुई देशबीच भएको सम्झौता तथा बिम्स्टेक ग्रिड सम्झौताजस्ता महत्वपूर्ण औजारको प्रयोगबाट साझा लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढ्न सकिने मन्त्री पुनले बताए । क्षेत्रीयस्तरमा ऊर्जाको सन्तुलन कायम राख्न यस क्षेत्रका देशको बीचमा साझा प्रयासको जरुरी रहेको भन्दै मन्त्री पुनले दीर्घकालीन ऊर्जाको स्रोत तथा लक्ष्य पहिचानका लागि सहकार्य जरुरी रहेको बताए ।

सन् २०१४ देखि दुई देशका ऊर्जामन्त्रीस्तरीय भ्रमण आदान–प्रदान सुरु भएको र ऊर्जाको क्षेत्रका सहकार्यका विविध सम्भावना अगाडि बढेको मन्त्री पुनले बताए । साथै, उनले गत महिना सम्पन्न समझदारी नेपाल र बंगलादेशबीचको उच्चस्तरको समझदारी रहेको बताए । वर्तमान सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्री पुनले आन्तरिक प्रयोजनका लागि १० हजार र छिमेकी देशमा निर्यातका लागि पाँच हजार मेगावाट विद्युत् उत्पादन गरिने स्पष्ट पारे ।

आगामी तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार हुँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ । मन्त्री पुनले नेपालमा पछिल्लो समय लगानीको वातावरण तयार भएकाले निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरिएको जानकारी दिए ।

यस्तै, लगानीका लागि सरकारी–सरकारी, निजी–सरकारी, निजी–निजी जुनसुकै तहमा पनि काम गर्न सकिने भएकाले त्यसका लागि सरकारले वातावरण बनाउने मन्त्री पुनले बताए । उनले भने, ‘हामी जस्तोसुकै प्रकारको ढाँचामा पनि आयोजना बनाउन तयार छाैँ ।

त्यसको वातावरण बनाउन तयार छौँ ।’ उनले भारतसँग चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा आइसकेको र अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणका क्रममा जान लागेको उदाहारण दिँदै प्रसारण प्रणालीका कारण आगामी दिनमा थप सहज हुने विश्वास व्यक्त गरे ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गरिन् । कार्यक्रममा विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद लगायतले ऊर्जा क्षत्रमा बंगलादेशले गरेको विकास र समुन्नतिका बारेमा जानकारी गराए ।

प्रतिक्रिया