‘विरोधलाई गैरकानुनी घोषणा गरिनुपर्छ’

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना विवादास्पद बयान र ट्विटका कारण बारम्बार चर्चामा आइरहने गरेका छन् ।

तर, पछिल्लो समय मिडियालाई जनताको शत्रु भन्ने ट्रम्पले मंगलबार भने स्वतन्त्र बोलको अधिकारलाई निशाना बनाउँदै विरोध कार्यक्रम र प्रदर्शनलाई गैरकानुनी घोषित गरिनुपर्ने बताएका हुन् ।

वासिङटन पोस्टले उल्लेख गरेअनुसार राष्ट्रपति कार्यालयमा समाचार साइट डेली कलरसँगको अन्तर्वार्तामा उनले यस्तो बयान दिएका हुन् ।

वास्तवमा सर्वोच्च अदालतका लागि उनका प्रतिनिधि, उमेदवार ब्रेट एम काभानापलाई सबैले विरोध गर्दै स्वागत गरेका थिए जसको प्रतिक्रियामा उनले यस्तो उल्लेख गरेका हुन् । मंगलबार काभानफविरुद्ध प्रदर्शनमा उत्रिएका ७० जनालाई पुलिसले पक्राउ गरेको थियो ।

उनले भनेका छन, ‘यी अवस्थाबारे किन राम्रो ख्याल गरिँदैन भन्ने मलाई पनि थाहा छैन । मेरो विचारमा यस्ता विरोधका कार्यक्रमहरूले अनुमति पाउनु नै देशका लागि शर्मनाक कुरा हो । विगतमा त हामी यिनीहरूलाई बाहिर फ्याँक्ने गर्दथ्यौँ । तर, आज उनीहरू सबैतिर चिच्याइ नै रहने गरेको मलाई लाग्छ ।’

ट्रम्पले स्वतन्त्रताका बारेमा यस्तो विवादास्पद टिप्पणी दिएको यो पहिलोपटक भने होइन । उनले यसअघि पनि धेरैचोटी विरोध गर्नेहरूको जागिर खोसिनुपर्ने वा तिनीहरूविरुद्ध हिंसात्मक कारबाही अगाडि बढाइनुपर्ने सुझाव दिइसकेका छन् ।

गत जुलाईमा बेलायत भ्रमणपछि पत्रिका ‘द सन’सँगको अन्तक्र्रियामा पनि उनले भनेका छन्, ‘मलाई नराम्रो महसुस गराउन उनीहरू अपमानपूर्वक स्वागत गर्छन् भने मलाई पनि लन्डन जान जरुरी छ जस्तो लाग्दैन ।’

त्यसवेला भने उनको विरोधमा उनैको अनुहारको २० फुट अग्लो बालकजस्तो देखिने अपमानजक बेलुन उडाइएको थियो भने ठूलो संख्यामा प्रदर्शनकारीहरू पनि सडकमा उत्रिएका थिए । त्योभन्दा अगाडि पनि विरोध कार्यक्रमकै कारण उनको बेलायत भ्रमण रद्द गरिएको थियो ।

त्यसैगरी, गत सेप्टेम्बरमा पनि एनएफएलका खेलाडीहरूले रंगभेदको विरोधमा घुँडा टेक्दै राष्ट्रिय गानलाई मान्यता नदिने बताएपछि उनले त्यस्ता खेलाडीहरूलाई प्रतिबन्ध गर्न आग्रह गरेका थिए । त्यस्तै, २०१६ को चुनाव प्रचार कार्यक्रममा पनि उनलको विरोध गर्नेहरूविरुद्ध हिंसा अपनाउन प्रोत्साहन गर्ने गरेका थिए ।

प्रतिक्रिया