समलिंगी सम्बन्ध अबदेखि वैधानिक

नयाँ दिल्ली । एउटा ऐतिहासिक निर्णय गर्दै भारतको सर्वोच्च अदालतले दुई वयस्क व्यक्तिबीच सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ ।

सर्वोच्चका पाँच न्यायाधीश रहेको बेन्चले समलिंगी यौनलाई ‘अप्राकृतिक कसुर’ मान्ने ‘सेक्सन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो ।

टेलिभिजनमा उक्त सुनुवाइबारे खबर हेरिरहेका अभियानकर्मीहरूले फैसलाको समाचार आएलगत्तै उफ्रिएर खुसी प्रकट गरेका छन् । सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानुनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरावलोकन गरिरहेका थिए ।

भारतका समलिंगी तथा लैंगिक अल्पसंख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानुनविरुद्ध संघर्ष गरेका थिए । यो फैसलासँगै अब व्यवहारमा के परिवर्तन हुन्छ भन्नेबारे अहिले केही भन्न सकिँदैन ।

सेक्सन ३७७ को केवल संवैधानिक वैधताबारे फैसला दिइएका न्यायाधीशहरूले स्पष्ट रूपमा जनाएका छन् । उनीहरूले विवाह वा पैतृक सम्पत्तिजस्ता अधिकारको दृष्टिकोणबाट यसलाई नहेरेको बताएका छन् ।

प्रतिक्रिया