दुर्गा बचाउन कोरियामा अभियान

इलाम । मृगौला पीडित इलामकी एक युवती बचाउनका लागि दक्षिण कोरियामा आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

इलाम नगरपालिका–३ पुवामझुवाकी २० वर्षीया दुर्गा राईको बोनम्यारो र मृगौलामा समस्या आएपछि उनलाई बचाउन कोरियामा ‘दुर्गा बचाउ अभियान’ थालिएको हो ।

पीडित दुर्गा राईलाई स्वास्थ्य उपचार लागि कोरियामा रहेका इलामेली युवाहरूको साझा सामाजिक संस्था ‘इलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया’ ले अभियान चलाएर आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

राई विगत ३ वर्षदेखि नेकपा विभिन्न अस्पतालमा उपचार गराउँदै आएकी छन् । पारिवारिक अवस्था कमजोर भएका दुर्गाको उपचारकै क्रममा अहिलेसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

राईको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित निदान अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।

राईको आर्थिक अवस्था नाजुक हुँदै गएपछि सहयोगका लागि कोरियामा अभियान चलाउनुपरेको अभियानका संयोजक भीमराज शंकरले जानकारी दिए ।

कोरियामा सहयोगको लागि भीमराज शंकरको नाममा रहेको आइबिके बैंकको हिसाब नम्बर २३०–१४२५२०–०१–०११ र नेपालमा सहयोगको लागि दुर्गा राईको नाममा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको हिसाब नम्बर ३३२३५२४६२९३२२०१६ मा सहयोग रकम जम्मा गर्न सकिने समाजका सचिव केदार निरौलाले जानकारी दिए ।

विगतका अभियानहरूजस्तै यो अभियानमा पनि कोरियामा रहेका सबैले खुलेर सहयोग गरिदिनका लागि अनुरोध गरिएको इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाका अध्यक्ष मन्जु लावतीले जानकारी दिइन् ।

प्रतिक्रिया