कोरियामा दीपक र रिदम ब्यान्ड

काठमाडौं । धादिङ र काभ्रेका विकट क्षेत्रमा एम्बुलेन्स सहयोग गर्ने उद्देश्यका साथ कोरियामा सांगीतिक साँझ हुने भएको छ ।

‘प्रवासमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हुने रिदम लाइभ कन्सर्ट तथा सांस्कृतिक धमाका कार्यक्रममा गायक दीपक बज्राचार्य तथा रिदम ब्यान्ड गुञ्जिने भएका हुन् ।

एम्बुलेन्स सहयोगार्थ काभ्रे सम्पर्क समिति र धादिङ समाजले संयुक्तरूपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन् । आगामी सेप्टेम्बर २४ मा आयोजना गरिने कन्सर्टमा ३ हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकले जनाएको छ । नेपालका चर्चित गायक तथा ब्यान्डलाई कार्यक्रममा ल्याउन लागिएको कार्यक्रमका संयोजक तथा धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारीले बताए ।

कन्सर्टमा बबिता बानियाँ ‘जेरी’, राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, पूर्णिमा लामा लगायतका कलाकार पुग्ने अर्का संयोजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया