स्मार्ट लाइसेन्सका लागि ‘मास प्रिन्टर’

काठमाडौं । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही लाइसेन्स लिन एक वर्षभन्दा बढी कुर्न बाध्य भएका छन् ।

हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने १ हजार ४ सय मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’ को पालो कुरेर बसेका छन् ।

‘मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका आठ छाप्ने यन्त्रमध्ये हाल चार वटाले काम गरेको र चारको अवधि सकियो, यसको मर्मत गर्नुभन्दा नयाँ किन्न सस्तो पर्छ, चार वटा यन्त्रले छापेको ‘स्मार्ट लाइसेन्स’ १६ वटा कार्यालयबाट वितरणको निर्णय गरिँदा सेवाग्राही मर्कामा परे,’ उनले भने ।

विभागले गत वर्ष साउनदेखि १६ कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ सेवा सुरु गरेको हो । उपत्यकाका तीन कार्यालयले भने यो सेवा ०७२ मङिसरदेखि नै सुरु गरेका थिए । एउटा यन्त्रको क्षमता एक लाखसम्म छाप्ने हुने महानिर्देशक ढकालको भनाइ छ । लामो समय पर्खनुपर्ने समस्या समाधानका लागि विभागले ‘मास प्रिन्टर’ को बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

तीन महिनामा ‘मास प्रिन्टर’ आएपछि दैनिक १० हजारसम्म ‘स्मार्ट लाइसेन्स’ छापिने उनले जानकारी दिए । यन्त्र किन्न अनुमानित पाँच करोड रुपैयाँ लाग्ने विभागले जनाएको छ ।

विभागले हालसम्म साढे तीन लाख ‘स्मार्ट लाइसेन्स’ छापिसकेको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि ‘आउट सोर्सिङ’ बाट ‘स्मार्ट लाइसेन्स’ छाप्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी पनि गरेको छ ।

‘स्मार्ट लाइसेन्स’ लिन एक वर्षदेखि पाँच पटकसम्म काठमाडौं आउजाउ गरिरहेको उपत्यकाबाहिर बसोवास गर्ने सर्वसाधारणको गुनासो रहँदै आएको छ । निश्चित समय तोकेर बोलाएको भए पटक–पटक आउजाउ गर्नुनपर्ने उनीहरूको भनाइ छ । विभागले ‘स्मार्ट लाइसेन्स’ का सेवाग्राहीलाई पटकपटक तारिख दिने गरेको छ ।

प्रतिक्रिया