आर्थिक प्रलोभनमा विदेशिँदै महिला

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिका–६ का वडाध्यक्ष हेरमबहादुर बुढाथोकीले आफ्नो वडाबाट १२ जना महिला पैसा कमाउने प्रलोभनमा परेर वैदेशिक रोजगारमा गएको बताए ।

पैसा कमाउने प्रलोभनमा परेर भारत गएका महिलामध्ये एक जना महिला भारतको दिल्लीमा अलपत्र परेको उनले जानकारी गराए । यस्तै सोही गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर रानाले आफ्नो वडाबाट पनि १३ जना महिला वैदेशिक रोजगारमा गएको खबर आफूले पाएको बताए ।

यी त प्रतिनिधि घटना मात्रै हुन । आर्थिक प्रलोभन तथा छिट्टै धनी बन्ने वहानामा जिल्लाबाट हजारौँ महिला विदेशिने गरेको र अलपत्र पर्ने गरेको सल्यानका सरोकारवालाले बताएका छन् ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस

‘आर्थिक प्रलोभनमा परेर अरूलाई सजिलै विश्वास गर्ने किशोरी, महिला एवं बालबालिका बेचविखनमा पर्ने सम्भावना धेरै हुँदो रहेछ’ वडाध्यक्ष बुढाथोकीले भने, ‘अब हामीले जोखिममा पर्नसक्ने समूहको पहिचान गरेर बेलैमा सचेतना फैलाउने काम गर्न जरुरी छ ।’

सल्यानको कपुरकोट गाउँपालिकाले १२औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो कुराको जानकारी दिएका हुन् । यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पनि अशिक्षा, गरिबी र घरेलु हिंसाका कारण मानव बेचबिखन समस्या समाजमा मौलाउँदै गएको बताएका छन् ।

कपुरकोट गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर रानाले यसरी महिला बेचिनबाट रोक्नका लागि गाउँमै रोजगारको सिर्जना गर्ने कार्यक्रम र योजनाहरू सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ पारित भएपछि र नेपालमा व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा ०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष २० भदौमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरुआत भएको हो ।

प्रतिक्रिया