ग्रीनल्याण्ड सेमिफाइनलमा


काठमाडौं । भ्यालीपब्लिक र टिआइए १३औँ क्वीक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार भएको सिनियर छात्राको क्वार्टरफाइनलमा भ्यालीले इडनब्रीजलाई ३४–११ को स्कोरमा हराउँदा सुजु गुरुङले सर्वाधिक १४ स्कोर गरिन् ।

दोस्रो क्वार्टरफाइनलमा एनी गुरुङको सर्वाधिक ८ स्कोरको मद्दतमा टिआइएले बुढानीलकण्ठ स्कुललाई १५–५ को स्कोरमा स्तब्ध बनाउँदै भ्यालीसँग भिडन्त पक्का गर्यो ।

सिनियर छात्राकै क्वार्टरफाइनलमा सफलता हात पार्दै आयोजक ग्रिनल्यान्ड र एचएचसीएले पनि सेमिफाइनलमा भेट पक्का गरेका छन् ।

सितोश्ना केसीको सर्वाधिक १४ स्कोरको सहयोगमा ग्रिनल्यान्डले स्किबलाई ३६–१३ को स्कोरमा हरायो । एचएचसिएले भद्रकालीमाथि ३६–१३ को सहज जित निकाल्दा प्रविना गुरुङले सर्वाधिक १२ स्कोरको योगदान दिएकी थिइन् । आयोजक ग्रिनल्यान्ड स्कुलको कोर्टमा भएको जुनियर छात्रमा सफलता हात पादै नवजीवनले सेमिफाइनलमा स्थान पक्का गरेका गरेको छ ।

२ क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दा जोन लामाले ८ स्कोरको योगदान दिएपछि नवजीवनले वसुन्धरा एकेडेमीको यात्रा २४–६ को स्कोरमा अन्त्य गर्यो । सिनियर छात्रको क्वार्टरफाइनलमा भ्याली पब्लिकले नवजीवनको यात्रामा ५२–२६ को दोब्बर अन्तरले पूर्णविराम लगायो । भ्यालीको जितमा सुमार्ग गुरुङले सर्वाधिक १३ स्कोर गरेका थिए ।

जुनियर छात्रको अन्तिम लिग खेलमा भ्यालीले इडनब्रीजलाई ७–२ को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । भ्यालीका अनमोल गुरुङले सर्वाधिक ६ स्कोर गरेका थिए ।

प्रतिक्रिया