सुजन र सुनिलको जोडी विजयी


काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषद्(राखेप)को ५५औँ वार्षिकोत्सव खेलकुद दिवसको अवसरमा आयोजित ब्याडमिन्टनमा पुरुष युगलको उपाधि जित्न सफल भएका छन् ।

खतिवडा र योञ्जनको जोडीले राखेप विज्ञान प्रतिष्ठानका तुलसीनारायण महर्जन र विकासविक्रम शाहको जोडीलाई २१–१९, २१–११ माथि सहज जित रच्दै उपाधि आफ्नो बनाए ।

तेस्रो स्थानमा गत वर्षका विजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराई र सागर सिग्देलको जोडी तथा केन्द्रका फणिन्द्र पौडेल र श्याम अधिकारीको जोडी रहे । महिलातर्फको उपाधि खेलकुद विज्ञान प्रतिष्ठानकी रितामैया प्रजापति र तालिम तथा प्रशिक्षण विभागकी रेखा बस्नेतको जोडीले हात पार्यो ।

प्रजापति र बस्नेतको जोडीले ललितपुर जिखेविसका रिता चौलागार्इं र विमला जोशीको जोडीलाई २१–१३ र २१–१२ ले पराजित गर्यो । केन्द्रका राधा श्रेष्ठ र सरस्वती केसीको जोडी र सिता अधिकारी र गुञ्जु गुरुङको जोडीले तेस्रो स्थानमा चित्त बुझायो ।

प्रतिक्रिया