बाहिरयो ‘द म्यान फ्रम काठमाण्डु’ को ट्रेलर

काठमाडौं । पेमा धोन्डुप निर्देशन गरेको चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’ को पोस्टर र अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपालमा बनेको पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

पाँच करोड लगानीमा निर्माण गरिएको यो चलचित्रको अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरिएको हो । पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ र पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा राखिएको छ ।

निर्माता नकिम उद्दिनले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिए । क्युएफएक्स सिनेमाज् प्रमुखसमेत रहेका निर्माता उद्दिन अहिले अमेरिकामा छन् । उनले केही स्टुडियोसँग चलचित्र रिलिजबारे छलफल भइरहेको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपाली कथा देखाउन र सुनाउन आफूहरू निकै उत्साहित भएको धारणा राखे । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।

धोन्डुपले सन् २००४ मा निर्देशन गरेको चलचित्र ‘वी आर नो मंक्स’ ले राम्रो समीक्षा र दर्शकको साथ पाएको थियो । चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली अभिनेता नीर शाह, कर्म शाक्य, शिशिर वाङ्देल, आना शर्मा, आमिर गौतम लगायतको अभिनय छ । चलचित्रमा कार्लोस मेडिनाको छायांकन, हरि पिलाइको ध्वनि, एरिक कारखेकको सम्पादन, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

प्रतिक्रिया