चार वर्षमा के–के काम भए प्रतिष्ठानमा ?

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षको बीचमा एक सय ६ वटा पुस्तक प्रकाशन गरेको छ । नेपाली संस्कृति, दर्शन, साहित्य, दर्शन, इतिहास लगायतका विविध विषयको अध्ययन अनुसन्धान, संरक्षण संवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रज्ञा प्रतिष्ठानले यी विषयसँग सम्बन्धित पुस्तक प्रकाशन गरेको जनाएको छ ।

विभिन्न भाषामा प्रकाशित कृतिमा नेपालको सांस्कृतिक वैभवलाई चिनाउने, संरक्षण तथा संवद्र्धन गर्ने काम गरिएको कुलपति गंगाप्रसाद उप्रेतीले बताए । ०१४ सालमा नेपाली कला साहित्यको विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको हो ।

०७१ साल २० भदौमा गठन भएको प्रतिष्ठानको प्राज्ञ परिषद्ले ‘नेपाली–बृहत् शब्दकोष’ को नयाँ संस्करण, ‘तामाङ शब्दकोष’, ‘मैथिली शब्दकोष’, ‘नेपाल प्रज्ञा प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘भोजपुरी शब्दकोष’, ‘नेपाली नारी साहित्यकार परिचय कोष’ ‘नेपाली डायस्पोराका कविता’ लगायतका विभिन्न भाषामा पुस्तक प्रकाशन गरिसकेको छ ।

कुलपति उप्रेतीका अनुसार प्रतिष्ठानले हाल ४२ वटा पुस्तक छपाइका लागि छापाखानामा पठाएको छ । उनले आफ्नो चारवर्षे कार्यकालमा थोरै बजेटमा पनि नेपाली भाषा र साहित्यको विकासका लागि धेरै काम गरिएको दाबी गरे ।

उनले भने, ‘नेपाली वाङ्मयको विकासमा लागि सीमित स्रोत र साधनका बीच प्रतिष्ठानले निकै राम्रो काम गरेको छ । नेपालका विविध भाषा, संस्कृति तथा वाङ्मयको खोज–अनुसन्धान तथा संरक्षण र प्रवद्र्धनमा समेत उल्लेख्य काम भएका छन् ।’

प्रतिष्ठानले चार वर्षमा एक सय ८३ पुस्तकको अध्ययन, अनुसन्धान र अनुवादका साथै २ सय २७ गोष्ठी, सम्मेलन र कार्यशाला आयोजना गरेको जनाएको छ । यस्तै, वयोवृद्ध साहित्यकारका उपचारका लागि प्रतिष्ठानले २४ लाख ६ हजार सहयोग प्रदान गर्नाका साथै विभिन्न साहित्यिक पत्रिकालाई २२ लाख दुई हजार सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले २२ साहित्यकारलाई प्रज्ञा पुरस्कार तथा सम्मान र दश साहित्यकारलाई ‘हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार’ प्रदान गरेको जानकारी दिएको छ । त्यस्तै, प्रतिष्ठानले चार वर्षको अवधिमा प्राडा वासुदेव त्रिपाठी, निरञ्जन (निनु) चापागाई, मोदनाथ प्रश्रित र मञ्जु काँचुलीलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको प्रतिष्ठानको भवनको १९ करोड ९३ लाखको लागतमा पुनः निर्माण गरिएको छ । सोही अवधिमा नेपाल भारतमैत्री भवन निर्माण भई हस्तान्तरण हुनका साथै सोही भवनमा आधुनिक छापाखाना, पुस्तकालय र सभाकक्ष पनि सञ्चालनमा ल्याइएको छ । १० करोड ६८ लाख ७५ हजारको लागतमा आधुनिक छापाखाना खरिद गरी प्रयोगमा ल्याइएको कुलपति उप्रेतीले जानकारी दिए ।

चार वर्षको अवधिमा प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय मुलुकसँग सम्बन्ध विस्तार गरेको प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरी बताए ।

उनले भने, ‘प्रतिष्ठानले बंगाल एकेडेमी र पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदानप्रदानको सम्झौता गरेको छ ।’ प्रतिष्ठानले चाइना फेडेरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल र गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सम्झौता नवीकरण पनि गरेको छ ।

कुलपति उप्रेती विभिन्न बाजा, भेषभूषा र ध्वनि चक्का व्यवस्थित गरी संग्रहालय स्थापना गर्ने, इ–लाइब्रेरी निर्माण गर्नेलगायत काम आफूले गर्न चाहे पनि समय अभावका कारण सम्पन्न गर्न नसकेको बताए । प्रतिष्ठानले चार वर्षको अवधिमा प्रशासन क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको जनाएको छ ।

कर्मचारी र कलाकारसँग सम्बन्धित नियुक्ति र बढुवाका काम गर्नाका साथै रिक्त दरबन्दीमा पदपूर्ति गरिएको सदस्यसचिव प्राडा गिरी बताउँछन् । लेखक साहित्यकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि– ०७५ प्राज्ञ परिषद्को बैठकले पारितसमेत गरेको छ ।

प्रतिक्रिया