रोकियो खुला चरिचरन

पर्वत । उत्तरी पर्वतमा कृषकले गाईबस्तु चराउन जंगलमा छाड्ने प्रवृतिको अन्त्य भएको छ । जंगलमा छाडेका गाईवस्तु खेतबारीमा पसेर बालीनाली सखापै पारिदिने समस्या अन्त्य भएको छ । कारबाही स्वरूप गाईभैँसीलाई काञ्जी हाउसमा थुन्न थालेपछि गाईवस्तुलाई छाडा छाड्ने क्रम रोकिँदै गएको हो ।

पर्वतको मोदी गाउँपालिका ४ क्याङस्थित लेस्पारमा वन जंगल समुदायमा हस्तान्तरण भएपछि स्थानीयवासीले चरिचरन बन्द गर्नका लागि काञ्जीहाउस सञ्चालनमा ल्याएका हुन् । स्थानीय रेश पातल सामुदायिक वन र खर्सुवास सामुदायिक वनले संयुक्तरूपमा काञ्जी हाउस सञ्चालनमा ल्याइएपछि उक्त क्षेत्रमा चरिचरन पनि रोकिएको छ ।

छाडा छाडेका बस्तुभाउ सामुदायिक वनमा प्रवेश गरेर जडीबुटीका साथै अन्य रुख बिरुवा मास्न साथै वन जंगलको छेउछाउमा लगाइएका बालीनाली पनि मास्न थालेपछि कारबाही गर्नका लागि सामुदायिक वनका उपभोक्ताले उक्त जुक्ति अपनाएका हुन् ।

उत्तरी क्षेत्रमा रहेको हम्पाल क्षेत्र मोदी गाउँपालिका–४ साविक क्याङ १ भुकताङले गाविससँगै जलजला गाउँपालिका–५ लेकफाँट, ६ शालिजा र ७ धाइरिङमा फैलिएको छ ।

सोही क्षेत्रमा छाडेका पशु सामुदायिक वन र खेतबारीमा पसेर बालीनाली मास्ने क्रमसमेत रोकिएको खर्सुवास सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरसिंह पुनले जानकारी दिए । उनले भने ‘उपभोक्ता मिलेर वनमा देखेका बस्तुभाउलाई काञ्जी हाउसमा ल्याएर थुन्ने गरेका छौँ ।’

कारबाहीमा परेका पशुबाट ५ सय जरिवाना तिराउने गरिएको छ । गाईभैँसी, गोरु जे भेटिए पनि काञ्जी हाउसमा थुन्ने र पशुधनीलाई कारबाहीस्वरूप ५ सय जरिवाना तिराउने गरिएको पुनले बताए । जंगलमा पशु भेट्टाएर काञ्जी हाउससम्म ल्याउनेलाई राम्रो पारिश्रमिकको व्यवस्था रहेको छ । गाईवस्तु भेट्टाएर ल्याउने व्यक्तिलाई प्रति पशु २ सय ५० का दरले दिने गरिएको पुनले जानकारी दिए ।

०६८ सालदेखि सञ्चालनमा आएको काञ्जी हाउसबाट अहिलेसम्म दुई लाख संकलनसमेत भइसकेको छ । उक्त रकम सामुदायिक वनको कोषमा राखेर उपभोक्तालाई सस्तो र सुुलभ ब्याजदरमा लगानी गरिँदै आएको छ । अहिले सोही रकमबाट वनमा वृक्षारोपणसमेत गरिएको पुनले जानकारी दिए । सुरुका केही महिना दैनिक दर्जनौँको संख्यामा पशु आउने गरे पनि पछिल्लो समयमा भने आउन छाडेको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया