मापदण्डविपरीतका मासु पसल

भक्तपुर । भक्तपुर नगरपालिकाले पटक–पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ ।

मंगलबार भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्डविपरीत पाइएको हो । नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा नौवटा मासु पसलमा भएको अनुगमनमा कोल्ड स्टोर तथा मासु पसल मापदण्डविपरीत सञ्चालन भएको र अत्यधिक फोहर पाइएको हो ।

अनुगमनमा न्यु महालक्ष्मी कोल्ड स्टोर, सिद्धिगणेश मिट सप, रामकृष्ण शाहीको राँगाको मासु पसल, ‘महिमा कोल्ड स्टोर, कमलविनायक माछापसल, सुभानी कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, कार्यविनायक मिट सप, लक्ष्मी शाहीको राँगोको मासु पसलको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

अनुगमनका क्रममा अधिकांश पसलमा वधस्थल फोहर रहेको, पसल दर्ता प्रमाणपत्र नभएको, सेतो एप्रोन प्रयोग नगरेको, मासु काट्ने काठ ढुसी परेको, ढक तराजु नमिलेको पाइएको छ ।

अनुगमन टोलीले मासु सिसाभित्र राख्न, पसल दर्ता एवं नवीकरण गर्न, डिजिटल तराजु राख्न, पसल सफा राख्न, मूल्यसूची राख्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न निर्देशन दिएको नगरपालिकाका सरसफाई उपशाखाका वरिष्ठ निर्देशक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै, मासु भुइँमा राखेर बेच्ने गरेकाले त्यसो नगर्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न निर्देशन दिँदै खिया लागेको औँजार तथा नवीकरणमा नभएका र बिगारिएका तराजु नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया