जाजरकोटमा दुग्ध चिस्यान केन्द्र

जाजरकोट । जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो ।

जिल्लामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख ९९ हजार ९ सय ५० र नागरिक दुग्ध सहकारी संस्थाको १६ लाख २५ हजार गरी ९६ लाख २४ हजार ९ सय ५० को लागतमा तीन हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरिएको छ ।

केन्द्रका लागि चिलिङ भ्याट र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री र एउटा गाडीसमेत गरी ९६ लाख रुपैयाँमा खरीद गरिएको र दूध संकलनका लागि अर्को गाडी ल्याउने तयारीमा रहेकाले केन्द्रले बताएको छ । जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि चिलिङ भ्याट स्थापना गरिएको सहकारीका अध्यक्ष धीरन शेर्पालीले बताए ।

सुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार लिने उद्देश्यसहित चिलिङ भ्याट स्थापना गरिएको उनको भनाइ छ ।

असोज पहिलो साताबाट दूध संकलन सुरु हुने छ, संकलित दूध जिल्लामा पुगेपछि जिल्ला बाहिर निर्यात गर्ने योजना सहकारीका अध्यक्ष शेर्पालीले बताए । अहिले तत्काललाई दाङको लमही र नेपालगञ्ज दूध पठाइने छ । दूध संकलनका लागि ठाउँ ठाउँमा केन्द्र खोलिएको छ ।

मुसिकोट नगरपालिकाको झुल्खेत, साधनचौर, त्रिवेणी गाउँपालिकाको झुल्नेटा, सिम्रुतु, पितिवाङ, पेउघा, सानीभेरी गाउँपालिकाको सिम्ली, गरायालना र बाँफिकोट गाउँपालिकाको छिनखेत लगायतका स्थानमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । सहकारीले दैनिक दुई हजार ५ सय लिटर दूध संकलनको अपेक्षा गरेको छ ।

प्रतिक्रिया