चीनमा अस्ट्रेलियाली मिडियामाथि प्रतिबन्ध

वेइजिङ । चीनले अस्ट्रेलियाको राष्ट्रिय प्रसारणकर्ताको वेबसाइटमाथि पहिलोपटक प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन, एबिसीका अनुसार चीनले अचानक दुई हप्ता अगाडिदेखि आफ्ना सबै वेबसाइट र एपहरू बन्द गराएको हो ।

यस विषयमा चीनले भने सो वेबसाइटले देशको कानुन उल्लंघन गरेको आरोप लगाएको छ तर स्पष्ट रूपमा कुन कुराको विरुद्धमा रहेको भन्ने चाहिँ उल्लेखित नगरेको बताइएको छ ।

चीनले लामो समयदेखि नै इन्टरनेट सेन्सरसिपसम्बन्धि कडा कानुन अपनाउँदै आएको छ र अहिलेसम्म थुप्रै विदेशी समाचार साइटहरूमाथि प्रतिबन्ध लगाइसकेको छ । विवादित सामग्रीहरू देशका जनतासम्म नपु¥याउन चीनले यस्तो नीति लागू गर्दै आएको हो । यसअन्तर्गत बिबिसी र न्युयोर्क टाइम्स पनि चीनमा अहिले उपलब्ध छैनन् ।

चीनस्थित एबिसीका सञ्चारकर्मीले यस खबरलाई पुष्टि गरेका हुन् । तर, पनि यसअघि चीनले एबिसीका वेबसाइट र एपहरूलाई जनतासमक्ष धेरै ठूलो पहुँच र स्वतन्त्रता दिइएको थियो । यस्तोमा चिनियाँ सेन्सरसीपले समेत सबै सामग्री चिनियाँ जनतासम्म पु¥याउन स्वीकृति दिँदै आएकाले एबिसीले गतवर्ष मात्र चिनियाँ भाषामै नयाँ भर्जनको समाचार साइट लन्च गरेको थियो ।

चीनको केन्द्रीय साइबरस्पेस अफेयर्स कमिसनका अधिकारीले बताएअनुसार चिनियाँ कानुनमा गलत हल्ला फैलाउने किसिमका खबर, यौनजन्य सामग्री, जुवाको प्रचार गर्ने, आतंकवादको सन्देश दिने र हिंसा भड्काउने खालका जानकारीहरूलाई अवैध मानिन्छ ।

त्यसैकारण यस्ता हानिकारक खबरले चीनको सुरक्षा र राष्ट्रिय गौरवमा चोट प¥ुयाउने खतरा भएकाले नै चिनियाँ सरकारले यसप्रति विशेष ध्यान दिँदै आएको उनको भनाइ छ । तर, एबिसीले चाहिँ यस्ता कुनै कार्यमा संलग्न नभएको दाबी गरिरहेको छ । त्यसैले पनि दुई देशबीच गम्भीर बन्दै गएको राजनीतिक समस्याका कारण चीनले यस्तो कदम उठाएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि अस्ट्रेलियाको आन्तरिक राजनीतिमा चीनले अप्रत्यक्ष हस्तक्षेप गर्ने गरेको खबर बाहिर आएपछि अस्ट्रेलियाको सरकारले देशमा चिनियाँ लगानीलाई सीमित गराउने निर्णय लिएको थियो ।

यसप्रति चीनले गम्भीर आपत्ति जनाए पनि एबिसीले गतवर्ष अस्ट्रेलियामा बेइजिङको प्रभावबारे अनुसन्धान गरेको हो । त्यसपछि क्यानबेरा स्थित चिनियाँ दूतावासले शीतयुद्धको मनस्थितिले बिना कुनै प्रमाण बनाइएको गलत समाचार भन्दै एबिसीको कडा आलोचना गरेको थियो ।

त्यतिवेला अस्ट्रेलियाले चीन विरुद्धको नीति अपनाइरहेको प्रस्ट भइसकेको भन्दै चिनियाँ राजनीतिज्ञहरूले आक्रामक प्रतिक्रियासमेत दिएका थिए । यति मात्र नभएर अस्ट्रेलियाले गतवर्ष पनि राष्ट्रिय सुरक्षाको कुरा अघि ल्याउँदै चिनियाँ कम्पनी हुवावेलाई फाइभजी नेटवर्कका लागि प्रतिस्पर्धा गर्नबाट वञ्चित गराएको थियो ।

यसप्रति पनि चीनले धेरै ठूलो असन्तुष्टि जनाउँदै आएको छ । यस विषयमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कटिस मोरिसनले भनेका छन्, ‘प्रतिबन्ध लगाउनु चीनको समस्या हो । चीन एक सार्वभौमिक सत्ता हो त्यसैले, त्यहाँ के हुन्छ भन्ने निर्णय उनीहरू गर्छन् र यहाँको सबै निर्णय हामीले लिन्छौँ ।’

प्रतिक्रिया