सिरिया, रुस र इरानलाई ट्रम्पको चेतावनी

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इडिलब प्रान्तमा ‘गैरजिम्मेवारी ढंगले’ कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन् ।

ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन् । सिरियाली सरकारी फौजले इडिलबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको यस्तो चेतावनी आएको हो ।

इडिलब सिरियाली विद्रोहीहरूको पकड रहेको अन्तिम महत्वपूर्ण क्षेत्र हो । संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्ने भनिएको हमलाले हजारौँ नागरिकलाई भयावह परिणाम निम्त्याउन सक्ने जनाएको छ ।

यसअघि सोमबार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारहरूले रासायनिक हमला गरे वासिंगटनले त्यसको जवाफ दिने चेतावनी दिएको थियो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ट्वीट गरेकी छन्, ‘सबैको नजर रुस र इरानले इडिलबमा के गर्छन् भन्ने कुरामा छ ।’

अधिकतम सिरियामा विद्रोहीहरू परास्त भइसकेको पृष्ठभूमिमा उत्तरी प्रान्तमा गरिने आक्रमण सिरियाली गृहयुद्धअन्तर्गत अन्तिम महत्वपूर्ण लडाइँ हुनेछ । राष्ट्रपति बसर अल असदले त्यहाँ चरणबद्ध आक्रमण गराउने तयारी गरिरहेको स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अल–नुस्रा र अल–कायदाका करिब १० हजार जिहादीहरू इडिलबमा छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले मानिसहरूलाई सुरक्षा कवच बनाएको भन्दै इडिलबबाट ‘आतंकवादीहरू’ सफाया गर्नुपर्ने बताएका छन् ।

सिरियामा सात वर्षभन्दा बढी समयदेखिको लडाइँका कारण चार लाखभन्दा बढी मानिसहरू मारिएको अथवा हराइरहेको र आधाभन्दा बढी जनसंख्या विस्थापित भएको बताइन्छ ।

प्रतिक्रिया