ग्रिनल्यान्ड क्वार्टरफाइनलमा


काठमाडौं । १३औँ क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक ग्रिनल्यान्ड स्कुल क्वार्टरफाइनलमा पुगेको छ ।

सोमबार भएको सिनियर छात्राको खेलमा ग्रिनल्यान्डले काठमाडौं विद्याकुञ्जलाई ३७–१५ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

आयोजकको जितमा प्रियंका खड्काले १२ अंक बटुलिन् । अर्को खेलमा टिआइएले पृथ्वीलाई १९–११ ले हराउँदा रिञ्चेन मोक्तानले ८ अंक जोडिन् ।

टोखास्थित आयोजक विद्यालयको कोर्टमा भएको जुनियर छात्रको खेलमा ओडिसी, लक्ष्मीपुर र एञ्जल हार्टले जित हात पारे ।

रुबिन खड्काको ३ अंकको मद्दतमा ओडिसीले हिमरश्मीलाई १०–६ ले हरायो । लक्ष्मीपुरले गोल्डेन पिकलाई १४–१० ले हराउँदा आयुष श्रेष्ठले १० स्कोर गरे ।

एञ्जल हार्टले एनइएलाई २४–१७ ले पराजित गर्यो । विजेताका ओसिस केसीले १७ स्कोर गरे । सिनियर छात्रको खेलमा सेबले स्किबलाई २१–७ ले हराउँदा विकास डंगोलले १० अंक जोडे ।

भ्याली पब्लिकले काठमाडौं विद्याकुञ्जलाई ३९–१४ ले पराजित गर्यो । विजेताका सुमन लिम्बूले १० अंक बटुले । नेपाल मोडलले न्यु समिटलाई ४७–४१ ले हराउँदा सुयोग प्याकुरेलले २७ स्कोर गरे ।

प्रतिक्रिया