असफल बन्दै किङ खान

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका पछिल्ला चलचित्रले खासै राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

उनको पछिल्लो चलचित्र ‘जब ह्यारी मेट सेजल’ फ्लप नै भयो । एकताका बलिउडमा राज गरेका शाहरुखका चलचित्र एकपछि अर्को ओरालो लागिरहेका छन् । बरु उनीभन्दा कम स्टारडम भएका अर्का अभिनेता अक्षयकुमारका चलचित्र लगातार हिट भइरहेका छन् ।

शाहरुखको खस्किँदो स्टारडमका कारण उनी फोब्र्सको विश्वका टप टेन हाइपेड एक्टरको सूचीमा समेत अटाएनन् । उनी केही वर्षदेखि उक्त सुचीमा अटाइरहेका थिए । उनी आफ्ना प्रतिस्पर्धी अभिनेता सलमान खान, आमिर खान र अक्षयकुमारसँगको प्रतिस्पर्धामा पछि पर्दै गएका छन् ।

बलिउडमा आफ्नो विरासतलाई फर्काउनका लागि शाहरुखलाई एउटा धमाकेदार चलचित्रको खाँचो छ । उनी यसको पर्खाइमा समेत रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसैबीच, शाहरुखको ‘जिरो’ चाँडै प्रदर्शनमा आउने तयारीमा छ । तर, यसले उनलाई राहत देला भन्नेमा धेरैलाई पटक्कै विश्वास लागिरहेको छैन । ‘जिरो’ मा उनले एउटा पुड्को व्यक्तिको भूमिकामा देखिएका छन् । यस चलचित्रले समेत खासै राम्रो गर्न नसक्ने महसुस गरेर हुन सक्छ शाहरुखले एउटा सफल ब्रान्ड समातेका छन् ।

धूमको चौथो सिक्वेलमा उनी प्रमुख खलनायकका रूपमा देखिने भएका छन् । सफल चलचित्रको पर्खाइमा रहेका उनी आदित्य चोपडाको शरणमा पुगेका हुन् । यो चलचित्रका अघिल्ला सिक्वेलमा जोन अब्राहम, ऋतिक रोशन र आमिर खान खलनायकको भूमिका देखिएका थिए ।

‘धूम’ सिरिजमा खलनायकको भूमिका बलियो हुने गर्छ । यसका प्रत्येक चलचित्रमा अभिनेता अभिषेक बच्चनले अभिनय गरेका छन् । ‘धुम ४’ मा समेत उनको भूमिका रहने छ । तैपनि अभिषेकको चलचित्रमा खासै प्रभावकारी भूमिका छैन ।

प्रतिक्रिया