सेरेना कीर्तिमाननजिक

न्युयोर्क । अमेरिकाकी स्टार सेरेना विलियम्स वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिस क्वार्टरफाइनलमा पुग्दै कीर्तिमान नजिक पुगेकी छन् ।

सोमबार राती इस्टोनियाकी काइया कानेपीमाथि २–१ को जित निकाल्दै सेरेना कीर्तिमानको बाटो लम्केकी छन् । यो उपाधि जितेमा सेरेनाले विश्वको सर्वाधिक ग्रान्डस्लाम जित्ने अस्ट्रलियाकी मार्गरेट कोर्टको २४ ग्रान्डस्लामको बराबरी गर्नेछिन् ।

सोमबार घरेलु कोर्टमा ६ पटक यस उपाधि विजेता सेरेनाले इस्टोनियाका कानेपीमाथि ६–०, ४–६ र ६–३ को सेटमा जित रचिन् ।

सेरेनाले जितका लागि ९७ मिनेट समय लगाउँदै खेल आफ्नो पक्षमा पारिन् । यसअघि पहिलो राउन्डमा विश्व नम्बर–१ सिमोना हालेपलाई हराएकी कानेपीले अनुभवी सेरेनाविरुद्ध भने चालाखी पूर्ण खेल प्रदर्शन गर्न सकिनन् ।

पुरुषतर्फ विश्व नम्बर–१ राफेल नाडलले जर्जियाका निकोलोजमाथि ३–१ को सेटमा संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरे । ३ घन्टा २० मिनेटसम्म चलेको खेलमा नाडलले पहिलो र दोस्रो सेट समान ६–३ ले जिते ।

तर, तेस्रो सेट टाइब्रेकरमा ६–७ ले गुमाएका नाडलले चौथो सेट ६–४ ले आफ्नो पक्षमा पार्दै जित रचे । अब क्वार्टरफाइनलमा नाडलले डोमिनिक थिमसँग खेल्नेछन् ।

प्रतिक्रिया