पोखरामा फिल्म मेकिङ कार्यशाला

काठमाडौं । चलचित्र लेखन तथा निर्माणबारे एकहप्ते कार्यशाला पोखरामा हुने भएको छ । फिल्मलेखन र निर्माणसम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीले पोखरामा २४ देखि २९ भदौसम्म कार्यशाला गर्ने जनाएको छ ।

पछिल्लो समय चलचित्र निर्माण र प्रदर्शनसम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री, वेभसिरिज, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम, युट्युब प्रोग्राम, कमर्सियल भिडियो लगायतका क्षेत्रमा राम्रो करिअर तथा कमाइसमेत राम्रो हुन थालेपछि युवापुस्तामा यसमा रुचि बढेको हो ।

तर, कतिपय अवस्थामा इन्डिपेन्डेन्ट न्यु फिल्ममेकर रुचि र कन्सेप्ट भएर पनि चलचित्र निर्माणसम्बन्धी सैद्धान्तिक तथा प्राविधिक ज्ञानको कमीका कारण राम्रो काम गर्न सकिरहेका छैनन् । स्वतन्त्र ढंगले काम गरिरहेका चलचित्र निर्माता वा यसप्रति रुचि हुनेलाई लक्षित गरी शैक्षिक अभियान सुरु गरेको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।

कार्यशाला पूर्वको बिर्तामोडबाट सुरु भई इटहरी, हेटांैडा, दाङ, नारायणघाटपछि पोखरामा हुन लागेको हो । पोखरापछि बुटवल, नेपालगञ्ज हुँदै धनगढीमा पुगेर कार्यशाला सकिने पुरी जानकारी दिए ।

वर्कशपमा फोटोग्राफी, सिनेमाटोग्राफी, स्क्रिप्टलेखन, डाइरेक्सन र फिल्म निर्माणमा केन्द्रित हुनेछ । पोखरामा हुन लागेको उक्त कार्यशालाको लागि हाइवे तथा कालो पोथीका राइटर अविनाश विक्रम शाह, हिफाजत, अन्दाज, दशगजा, मंगलम्लगायत दर्जनौँ फिल्मका सिनेम्याटोग्राफर विष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन् । त्यस्तै, कार्यशालामा हास्यकलाकार दीपकराज गिरी पनि सहभागी हुने जनाइएको छ ।

चलचित्रसम्बन्धी रुचि हुने जोकोही कार्यशालामा सहभागी हुन सक्ने बताउँदै पुरीले भने, ‘यस्ता वर्कशपले नयाँ पुस्तालाई फिल्ममेकिङमा प्रोत्साहन गर्ने र उनीहरूको काममा प्रत्यक्ष असर देखिन्छ ।’

प्रतिक्रिया