आधीआबाधी महिला भलिबल लिगको ट्रफी सार्वजनिक


काठमाडौं । आधीआबाधी महिला भलिबल लिगको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघ (एनभिए) र आधीआबाधी फाउन्डेसनको संयुक्त आयोजनामा १३ देखि १७ असोजसम्म पहिलोपटक नेपालमा हुन लागेको फ्रेन्चाइज टोलीसहितको भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको हो ।

लिगमा ३ विभागीय क्लब पुलिस, एपिएफ र आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्किज र न्यु डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोमबार नै कुल ६ टोलीमध्ये ४ क्लबका गुडविल एम्बेसडर, संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आधीआबाधी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशकुमार सिंहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।

कुल ६ गुडविल एम्बेसडर नै भारतीय कलाकार हुन् । प्रतियोगितालाई थप रोचक बनाउन हरेक टोलीमा गुडविल एम्बेसडर राखिएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए । ४ टोली एम्बेसडरमा पूजा गौर (चितवन टाइगर्स), सोनिया शर्मा (आर्मी), ऋषिका सिंह (एपिएफ) र ऋतु दूधानी (न्यू डायमन्ड) मात्र उपस्थित थिए ।

लभिना टण्डन (पुलिस) र प्राची तेहलन (पोखरा) हाल फिल्म छायांकनका लागि भारत बाहिर रहेको आयोजकले जनाएको छ । आर्मी, चितवन र न्यु डायमण्ड ‘ए’ समूहमा छन् । एपिएफ, पुलिस र पोखरा समूह ‘बी’ रहेका छन् । चितवनमा भने अमेरिकन खेलाडी आउने पक्का भएको आधीआबाधी फाउन्डेसनका नेपाल प्रमुख सूर्य गुरुङले जानकारी गराए ।

गुरुङका अनुसार ओपन स्पाइकर र सेन्टर ब्लकका रूपमा अनुवन्धन हुने खेलाडीमा सेल्बी डाल्टन, ज्याकलिन ब्रिक्स र टिज निकोल रुन ट्री रहेका छन् । प्रत्येक टोलीले ४ विदेशी खेलाडी राख्न पाए पनि कोर्ट भित्र भने ३ खेलाडी मात्र उत्रार्न पाउने भलिबल संघले नियम बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँचदिने प्रतियोगिताको विजेताले ६ लाख, उपविजेता ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछ । यसअघि काठमाडौं क्विन्स रहने बताए पनि त्यसको स्थानमा न्यू डायमण्डलाई मौका दिइएको नेपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया