रानाहँछा र सिग्देललाई मोतीराम पुरस्कार

काठमाडौं । नेपाली साहित्यमा योगदान पु¥याएबापत यस वर्षको युवा वर्ष मोतीराम भट्ट पुरस्कार साहित्यकार चन्द्र रानाहँछा र केशव सिग्देललाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित उक्त पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको बैठकले सिग्देल र रानाहँछालाई दिने निर्णय गरेको हो । ५० हजारको उक्त पुरस्कार आगामी भदौ २४ गते १५३आैं मोतीजयन्तीका अवसरमा प्रदान गरिने कोषका कार्यालय सचिव भरत राईले जानकारी दिए ।

उनीहरू दुवैलाई नेपाली भाषा, साहित्यको उत्थान र मोतीराम भट्टको क्रियाकलापको अनुशरण गर्दैै योगदान दिएको भन्दै पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । ०४२ सालबाट प्रदान गरिन थालेको उक्त पुरस्कार अहिलेसम्म ६७ जनाले प्राप्त गरिसकेको राई जानकारी दिए ।

नेपाली गजलका पिता भनेर चिनिएका मोतिराम भट्ट नेपाली साहित्यको माध्यमिक कालका प्रवर्तक हुन् । नेपाली भाषामा अतुलनीय योगदान दिएका मोतिरामको जन्म १९२३ सालमा काठमाडौंमा भएको थियो । ३० वर्षको उमेरमा निधन भएका मोतिरामको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया