डोनेस्क ‘नायक’ को सम्झनामा विशाल र्याली  

डोनेस्क । युक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको संख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उनको सम्झना तथा सम्मानमा गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् ।

रुसी राष्ट्रपतिका समर्थकले मृतक ४२ वर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई युक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दसौँ हजारको संंख्यामा सहभागी भएका डोनेस्कवासीले शुक्रबार एउटा रेस्टुरेन्टमा भएको विस्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम सम्मानका लागि शोक गरिएको र्यालीमा सहभागिता जनाएका थिए ।

शुक्रबारको घटनामा जाखारचेन्कोसहित उनका सुरक्षा सहयोगीको मृत्यु भएको थियो भने करिब १० जना घाइते भएका थिए । उनी विगत चार वर्षयता मारिएका मस्को समर्थक युक्रेनी उच्च अधिकारी हुन् ।

कम्तीमा एक लाख जनाले जाखारचेन्कोको मृत शरीर राखिएको स्थानमा पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वघोषित डोनेस्क गणराज्यका प्रमुख जाखारचेन्कोको अन्तिम संस्कारका लागि गरिएको सभामा अलेक्जेन्डर जाल्देभस्तानोभ, रुसी सांसद नाटालिया पोकलोन्सकाया लगायतका रुसी पक्षधर उच्च नेताहरूको सहभागिता रहेको थियो ।

सहभागी ४१ वर्षीय ओक्सानाले भने, ‘उनीहरूले हाम्रो मुटुको टुक्रा चुडेर लगेका छन् । हामीले यो दःखद् घटनालाई कहिल्यै बिर्सने छैनौँ । उहाँ सधैँ एकै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो । यो म र मेरा साथीका लागि अपूरणीय क्षति भएको छ ।’

उनको हत्यारालाई क्षमा हुने छैन, अर्का सहभागी ३५ वर्षीय सेर्गेई कापुस्टिनले थपे । ‘¥यालीमा हामी सबैको एउटै मातृभूमि रुस’ भन्ने व्यानर बोकेका सहभागीले आँखाभरि आँसु लिएर सहरको विभिन्न भाग पुगेका थिए । रुसले हत्यालाई उत्तेजना फैलाउने काम भनेको छ । उसले पश्चिमा राष्ट्रहरूको पहलमा भएको शान्तिवार्ता भंग गर्ने प्रयास भनेको छ ।

जाखारचेन्कोले रुसी पक्षधर विद्रोहीको विगत चार वर्षदेखि नेतृत्व गर्दै आएका थिए । सन् २०१४ मा जाखारचेन्को डोनेस्कको प्रथम राष्ट्रपतिमा सर्वसम्मत रूपमा चुनिएका थिए । सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि पूर्वी युक्रेनको डोनेस्क र लुगान्सकमा रुसी समर्थनमा विद्रोह भएपछि करिब १० हजार नागरिकले ज्यान गुमाएका थिए । किभ र पश्चिमा मुलुकहरूले उक्त विद्रोहका लागि मस्कोले उक्साएको दाबी छ तर रुसले यसलाई नकार्दै आएको छ ।

प्रतिक्रिया