दुई सय वर्ष पुरानो संग्रहालयमा आगलागी

रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । दुई सय वर्ष पुरानो सो संग्रहालय ल्याटिन अमेरिकाकै ठूलो र वैज्ञानिक खोज संस्थाको रूपमा परिचित थियो ।

दुई करोड बढी ऐतिहासिक सामग्रीहरू संग्रहित रहेको सो संग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिए पनि लामो समयसम्म नियन्त्रणमा लिन सकेका थिएनन् । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । रातको समयमा आगलागी भएकाले कुनै मानवीय क्षतिको पुष्टि नभएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेखित गरेको छ ।

सो संग्रहालयले यसै वर्षको सुरुमा आफ्नो २००औँ वार्षिकोत्सव मनाएको थियो । ब्राजिलको ग्लोबो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो संग्रहालयका निर्देशकले आगलागीलाई एउटा सांस्कृतिक वियोगको संज्ञा दिएका छन् ।

सन् १८१८ मा बनेको सो संग्रहालयमा किराफट्याग्रा, जीवाशेष, उल्कापिण्ड, विशेष किसिमले संरक्षण गरेर राखिएका शवहरू (ममी) लगायतका सामग्रीहरू संग्रहित गरी राखिएका थिए । यसैगरी, संग्रहालयको प्राकृतिक इतिहासको संग्रहमा डाइनोसरका महत्वपूर्ण हड्डीहरू, १२ हजार वर्ष पुरानो महिलाको स्केलेटनसहितका महत्वपूर्ण ऐतिहासिक सामग्री थिए ।

त्यहाँ कुनैवेला पोर्चुगलका राजपरिवारको समेत निवास थियो । ब्राजिलका राष्ट्रपति मिसेल टिमेरले ट्वीट गर्दै सबै ब्राजिल नागरिकका लागि दुःखद् दिन भएको बताएका छन् । उनले ऐतिहासिक भवनमा पुगेको क्षति मापन गर्न नसक्ने उल्लेखित गरिन् ।

प्रतिक्रिया