नगद पुरस्कार नदिएसम्म नखेल्ने


काठमाडौं । गत संस्करणको विजेता नेपालले नगद पुरस्कार नपाएसम्म आगामी संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता नखेल्ने भएको छ । नेपालले गत संस्करण च्याम्पियन हुँदा पुरस्कार बापतको २५ हजार अमेरिकी डलर हालसम्म पनि पाउन सकेको छैन । नेपालले ०७२ साल माघमा बंगलादेशमा फाइनलमा बहराइनलाई ३–० ले हराउँदै उपाधि जितेको थियो ।

पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशी नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए । उनले उक्त नगद पुरस्कार नपाएसम्म आगामी प्रतियोगितामा भाग नलिने बताएका छन् । नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

बंगलादेश फुटबल महासंघले गत शनिबार पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गर्दा समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । आगामी १५ देखि २७ असोजसम्म राजधानी ढाकामा हुने प्रतियोगिताको समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

प्रतिक्रिया