जेसुम–यात्रामा चित्र र कविता

काभ्रे । कला र साहित्यका माध्यमबाट समाजमा सकारात्मक दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ ‘जेसुम–यात्रा’ सुरु भएको छ ।

शनिबार धुलिखेलस्थित हजार सिँढीबाट हाइकिङ गर्दै कलाकार तथा साहित्यकारको टोलीले कविता सुनाउँदै र चित्र बनाउँदै जेसुम–यात्राको औपचारिक थालनी गरे ।

कार्यक्रमलाई औपचारिकता दिँदै काभ्रेका स्थानीय स्रष्टा जगत तामाङले ललितकला, साहित्य, नाटक तथा सिर्जनाका सबै विधामार्फत अभियान सुरु गरेर राम्रो कामको थालनी गरेको बताए ।

कवि अनिता लामाले नेपाली समाजमा नकारात्मक चीजको प्रभाव बढ्दै गइरहेको अवस्थामा सिर्जनामार्फत सकारात्मक प्रभाव ल्याउने यात्राको लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘देशको समृद्धिमा योगदान दिने र समाजमा पोजेटिभ भाइभ दिने ‘जेसुम–यात्रा’ हुनुपर्छ ।’

उनले देशलाई समृद्धि बनाउन सबैको भूमिका विशिष्ट रहने भन्दै ‘बिर्खबहादुर माझी’ शीर्षकको कविता सुनाइन् । उनले सहकार्य र सद्भावको मनोविज्ञान विकास गर्न कला, साहित्य र रंगमञ्चको क्षेत्रबाट सघाउने अभियानको थालनी गरेका विचार व्यक्त गरिन् ।

कवि तथा सञ्चारकर्मी फूलमान बलले नेपाली समाज इन्द्रेणी रङजस्तै भएकाले सोही थिममा कविता सुनाउँदै भने, ‘नेपाली समाजको विविधतालाई सिर्जनामार्फत जोड्ने यात्राको मुख्य उद्देश्य रहेको छ ।’ त्यस्तै सञ्चारकर्मी बालकृष्ण बस्नेतले समाजमा सकारात्मक विचार निर्माण गर्ने अभियानको सफलताको कामना गरेका थिए ।

उक्त यात्रामा कवि दिनमान गुर्मछान, नरेन्द्रकुमार नगरकोटी, बाबु साइँलालगायतले कविता सुनाए । त्यस्तै, कलाकार केशवराज खनाल, देवेन्द्र थुम्केली, लालकाजी लामा, एनबी गुरुङ लगायतले चित्र रचना गरेका थिए । अर्को महिनाको यात्राचाहिँ सुन्दरीजलमा गरिने अनिताले जानकारी दिइन् ।

प्रतिक्रिया