प्रियालाई राहत मिल्यो

मुम्बई । मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध परेको मुद्दालाई भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

केही समयअघि आँखा झिम्क्याएको भिडियो क्लिपबाट एकाएक चर्चामा आएकी प्रियाद्वारा अभिनीत चलचित्र ‘ओरु अदार लभ’ लाई लिएर मुद्दा दायर गरिएको थियो । उक्त मुद्दालाई अदालतले खारेज गरिदिएको उनलाई राहत मिलेको छ ।

चलचित्रमा रहेको ‘मानिक्य मलाराया पूवी’ बोलको गीतलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै निर्माता र अभिनेत्री प्रियामाथि हैदरावादमा केही युवाले एफआइआर दायर गरेका थिए । प्रियाको भिडियो भाइरल भएपछि एफआइआर दायर भएको थियो ।

हैदरावादमा दायर एफआइआरविरुद्ध प्रियाले सर्वोच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् । मुख्य न्यायाधीश दीपक मिश्राले उनको निवेदन स्वीकार गर्दै उजुरीकर्ताको आलोचना गरेका छन् ।

न्यायाधीश मिश्राले वकिललाई प्रश्न गर्दै भने, ‘कसैले फिल्ममा गीत गायो र तपाईं सिकायत गर्न आउनुभो । तपाईंको अरू काम छैन कि क्या हो ?’

प्रियाले सर्वोच्चमा दायर गरेको निवेदनमा उक्त गीत उत्तरी केरलाको मालबार क्षेत्रमा मुस्लिमले गाउने गर्छन् । उनले उजुरीमा आफूलाई उजुरीकर्ताले गलत तरिकाले लिएको गुनासो गरेकी थिइन् । चलचित्र रिलिज पनि नभएको अवस्थामा गीतविरुद्ध उजुरी गर्नु जायज नभएको उनले बताएकी छन् ।

‘ओरु अदार लभ’ को फेब्रअरी सन् २०१८ मा टिजर सार्वजनिक गरिएको थियो । यसमा अभिनेत्री प्रियाले आफ्ना को–स्टारलाई कक्षाकोठामा हातको औँलाले निशाना साँध्दै आँखा झिम्क्याएको दृश्य छ, जुन इन्टरनेटमा भाइरल बनेको थियो ।

प्रतिक्रिया