इजिप्टमा सामाजिक सञ्जाल नियन्त्रणमा

कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् ।

नयाँ कानुनमा सरकारी अधिकारीहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको निगरानी गर्न अधिकार दिइएको छ । संसद्बाट गत जुलाईमा पारित भएको कानुनमा ‘सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्लाई कामको जिम्मेवारी दिइएको छ ।

सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाइट लगायतमा पाँच हजारभन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ ।

‘गलत समाचार प्रकाशन वा प्रसारण गरेमा वा कानुनको उल्लंघन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा’ व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषद्लाई दिइएको छ । सञ्चारसम्बन्धी विज्ञ तथा अधिकारकर्मीरूले भने यस कानुनले राष्ट्रपतिको शासनका बारेमा अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् ।

सिसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनका बारेमा सार्वजनिक रूपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रूपमा यस्ता नियन्त्रणमुखी कानुनहरू आइरहेको विज्ञ तथा अधिकारकर्मीहरूको भनाइ छ ।

यही अगस्टमा राष्ट्रपति सिसीले यस्तै अर्को कानुन पनि जारी गरेका थिए । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेवसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो ।

अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरूले वेभसाइट तथा सामाजिक सञ्जालहरूको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड जरीवाना गर्न सक्ने जनाइएको छ । इजिप्टमा अहिले पाँच सयभन्दा बढी वेभसाइटहरू बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरू पनि धेरै अनलाइन, वेभसाइट तथा व्यक्तिगत ब्लगहरू बन्द हुने आशंका गरिएको छ ।

प्रतिक्रिया