लिबियाकाे हिंसाप्रति राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले युद्धविराम सम्झौताअनुरूप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गरेका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच दिनभित्रै परस्पर लडाकू समूहबीचको हिंसात्मक झडपबाट ३९ जनाको मृत्यु भएको र करिब सय जनाको मृत्यु भएको छ । यो झडप राजधानी सहर त्रिपोलीको दक्षिणी इलाकामा सोमबार भड्किएको थियो ।

‘महासचिवले लिबियाको राजधानी सहरका बाहिरी इलाकामा फैलिएको हिंसाको निन्दा गरेका छन् । हतियारधारीले जथाभावी गोली चलाउँदा आमसर्वसाधारणको मृत्यु र घाइते भएको खबर छ । हिंसाबाट बालबालिकासमेत प्रताडित भएका छन्,’ गुटेरेसको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुटेरेसले हिंसात्मक घटनालाई तत्काल रोक्न र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

बेलायत, फ्रान्स, इटाली र संयुक्तराज्य अमेरिकाका तर्फबाट जारी संयुक्त वक्तव्यमा त्रिपोली वा लिबियाका कुनै पनि भागमा हुने हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुने चेतावनी दिइएको छ । सन् २०११ मा पूर्वनेता मोउमार गद्दाफी सत्ताच्युत भएपछि त्रिपोलीमाथि प्रभाव जमाउन विभिन्न सशस्त्र समूह सक्रिय छन् ।

प्रतिक्रिया