सिरियाली सैनिक विमानस्थलमा विस्फोटन

बेरुत । सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राती ठूलो विस्फोटन भएको छ ।

दमास्कसस्थित एक गैससले ‘इजरायली आक्रमणको सम्भावना’ औँल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ ।

दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी ‘इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको’ सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताए ।

यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र रहेको छ । सन् २०१७ को प्रारम्भमा पनि यस्तै आक्रमण हुँदा सिरिया सरकारले छिमेकी मुलुक इजरायलमाथि आरोप लगाएको थियो ।

सिरियाली सैनिक स्रोतले माज हवाई अखडा इजरायलीको निशानामा नरहेको बताएका छन् । सरकारी समाचार संस्था सानाले सेनाको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हतियार भण्डारमा विस्फोट भएको तर त्यो विद्युतीय गडबडीका कारण भएको हो ।’

इजरायलले सिरिया द्वन्द्वमा प्रत्यक्ष सहभागिता जनाएको छैन । तर, सिरियाभित्र रहेर इजरायल विरोधी गतिविधिमा संलग्न हेजबोल्लाहसमेतका लडाकू समूहलाई केन्द्रित गरी दर्जनौँ हवाई हमला गरेको इजरायलले बताउँदै आएको छ ।

यही साताको सुरुमा पनि इजरायलले सिरियाभित्र सक्रिय इरानी सैनिक अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । ‘सिरियाभित्र लडाकू र विकसित हतियार प्रणाली स्थापना गर्ने इरानको प्रयत्नलाई ध्वस्त बनाउन इजरायली सेना प्रतिबद्ध छ’, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताए ।

जुलाईमा, उत्तरी अलेप्पोको एउटा सैनिक जाँच चौकीमा इजरायलले बम आक्रमण गरेको सिरियाले आरोप लगाएको छ । अब्जर्भेटरीअनुसार उक्त आक्रमणबाट कम्तीमा नौ जना सिरियाली सैनिक मारिएका थिए ।

सिरियाको द्वन्द्व आरम्भ भएको सात वर्षपछि मात्र सिरियाली सेनाले विद्रोही र जिहादीको कब्जामा रहेको सम्पूर्ण मुलुकको करिब दुईतिहाइ क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सफल भएको छ ।

सिरियाली सैनिकलाई रसिया र इरानी सेनाले मद्दत गरेका छन् । साथै, लेबनानी हेज्बोल्लाह लडाकु तथा इराकी, इरानी र अफगान मिलिसियाले पनि सिरियाली सरकारी फौजलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया