नेपालको छनोट सम्भावना कमजोर


काठमाडौं । सिंगापुरसँगको जितले पनि एसिया कपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । आइतबार मलेसियामा भएको चौथो खेलमा दोस्रो लगातार जित निकाले पनि नेपालको छनोट सम्भावना कमजोर बनेको हो । नेपालले सिंगापुरमाथि ४ विकेटको जित निकालेको थियो ।

यद्यपि, आइतबार नै भएको अर्को खेलमा ओमन र हङकङले अंक बाँडेपछि नेपालको फाइनल पुग्ने यात्रा कठिन बनेको हो । नेपाल लिगमा शीर्ष दुईमा रहँदै फाइनलमा पुग्न ओमनले हङकङलाई हराउनुपर्ने थियो । यद्यपि, वर्षाका कारण खेल हुन नसकेपछि दुवैले १–१ अंक बाँडेपछि नेपालको यात्रा कठिन भएको हो ।

समान ४ खेलमा ओमन अपराजित रहँदै ७ अंकसहित शीर्षमा रहँदा युएईको ६ अंक र हङकङको ५ अंक छ । युएईले पनि आइतबार मलेसियामाथि ८ विकेटको जित निकाल्दै नेपालको फाइनल पुग्ने सम्भावना पर धकेलेको थियो । यदि, युएईले सामान्य जित निकाल्दा मंगलबार नेपालले हङकङ हराउँदा सोही दिन युएई ओमनसँग पराजित हुँदा नेपालको फाइनल पुग्ने यात्रा हुने थियो ।

तर, नतिजा नेपालको पक्षमा नआउँदा मंगलबार नेपालले र ओमनले अकल्पनीय नतिजा निकाल्नुपर्ने हुन्छ । अंक गणितीय रूपमा नेपाल र ओमनले ८ विकेट या १ सय ५० रनभन्दा माथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ । आइतबार मलेसियाको युकेएम–वाइएसडी ओभलमा टस जितेको सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर अनीलकुमार साहले ४३ रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३ चौका र १ छक्कासहित ३३ रन, ज्ञानेन्द्र मल्लले २९ रन जोडेपछि १ सय ३१ बल अगावै नेपालले जित निकाल्यो । सिंगापुरको बलिङमा सेलाडोर विजयकुमार र अनन्त कृष्णले २–२ विकेट लिएका थिए ।

त्यसअघि सिंगापुर कप्तान चेतन सूर्यावंशी र अनिष परामको ८० रनको साझेदारीका बाबजुत ४२ ओभरमा १ सय ५१ रनमा समेटिएको थियो । सिंगापुरका ३ खेलाडीले मात्र दोहोरो अंक छुँदा चेतनले ६० रन, अनिषले ३१ र सुब्रमनियनले २० रनको योगदान दिएका थिए ।

सुरुआतदेखि नै नेपाली बलर हाबी हुँदा पहिलो ओभरमा नै विकेट लिएका सोमपाल कामीले थप १ विकेट निकाले । ललित राजवंशी र सन्दीप लामिछाने समान ३–३ विकेट निकाल्दै सिंगापुरको पारी ध्वस्त पारेका थिए ।

प्रतिक्रिया