नेपाली खेलकुदकाे भविष्य निरासाजनक


काठमाडौं । २० वर्षपछि नेपालले रजत पदक जितेको १८औँ एसियाडमा आइतबार सम्पन्न भएको छ । इन्डोनेसियाको जकार्तामा कुल १५ दिनसम्म जकार्ता र पालेङवाङमा भएको एसियाली राष्ट्रको महाकुम्भ मेलामा नेपालको लागि भने निराशाजनक रह्यो । करिब ८ करोड रुपैयाँको तयारीमा नेपाल एसियाडमा होमिएको थियो ।

कुल २९ खेलमा १ सय ८५ नेपाली खेलाडीले चुनौती प्रस्तुत समावेश गरिएको एसियाडमा नेपालले पदकका लागि भने पहिलोपटक सहभागी पाराग्लाइडिङमै भरपर्नुपरेको थियो । गत २ भदौदेखि सुरु भएको एसियाडमा यसअघि नेपालका सफल खेल मानिएका तेक्वान्दो, कराते र बक्सिङ पदकविहीन हुँदै बाहिरिएपछि नेपाली खेलकुद ३२ वर्षअघिको खराब नतिजाको सामना गर्नुपर्ने आशंका गरिएको थियो ।

यद्यपि, एसियाड सुरु भएको ११औँ दिनमा नेपालले पाराग्लाइडिङमा पुरुष टिम क्रस कन्ट्रीमा रजत पदक दिलाउँदा केही राहत मिलेको थियो । तर, समग्र खेलकुदका लागि भने ढुंगेयुगको संज्ञा दिँदा खासै फरक नपर्ला । एसियाडमा हालसम्मकै जम्बो टोली सहभागी १८औँ एसियाडमा नेपालका लागि भने वास्तवमै निराशाजनक थियो ।

पदक जित्नु त परकै कुरा थियो,तर नेपाली खेलाडीको प्रदर्शन पछाडिबाट पहिलो र दोस्रो सीमित हुनु नेपाली खेलकुदका लागि भने सक्कै राम्रो संकेत होइन । करिब तीन सयको हाराहारीमा जम्बो अफिसियल सहभागी भएको एसियाडमा नेपाली खेलाडीले खेल्नै नपाउनु, खेलमैदान खेलाडी नपुग्नु र राष्ट्रको नेतृत्वमा रहेका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई मर्यादा क्रममा सामान्य कर्मचारीभन्दा पछाडि राखिएको समाचारले पनि निराशामा मलजल गर्ने काम गर्यो ।

नेपाली खेलकुद सञ्चालन गर्ने कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आफ्नो कार्यकाललाई स्वर्णयुग संज्ञा दिइरहेको नेपाली खेलकुद वास्तवमा भने ढुंगेयुगबाट गुज्रिएको भान खेल समर्थकले गरिरहेका छन् । राज्यको अर्बौं लगानी खेलाडीभन्दा राजनीति स्वार्थ, अनावश्यक भत्ता र वैदेशिक सयरमा प्रयोग भइरहेको अवस्थामा संरचना अनुरूप नेपाली खेलाडीको प्रदर्शन स्वभाविक नै हो ।

हाल, खेलाडीले जे जति प्रदर्शन गर्नसके पूर्वसदस्यसचिव शरदचन्द्र शाह र युवराज लामाले खडा गरेको धरातलकै आधारमा प्राप्त भएको नेपाली खेलकर्मीले भन्न थालिसकेका छन् । एक खेलकर्मी भन्छन ‘अहिले नेपाली खेलकुदकाे अवस्था निकै दयनीय भइसकेकाे छ । खेलकुदमा कर्म गर्नभन्दा लाभ प्राप्त गर्न अाउने भिड धेरै भइसकेकाे छ । त्यसमाथि पनि गैरजिम्मेवारी खेल नेतृत्व भएकाले पनि नेपाली खेलकुदका लागि अहिलेकाे अवस्था ढुंगे यूग नै हाे ।’

वास्तवमा पनि नेपाली खेलकुद पूरानै ढर्राबाट चलिरहेको छ । पहिलोपटक एसियाडमा राखिएको पाराग्लाइडिङले यसपटक पदक जिते पनि आगामी सहभागितामा यस्तै व्यवस्थापन रहने हो भने अन्तिममा नरहला भन्न सकिन्न । एसियाका सबै ४५ मुलुकबाट गरी ४९ खेलमा करिब १० हजारको संख्यामा खेलाडी इन्डोनेसियामा भेला भए ।

जसमा ३७ मुलुकले पदक जित्न सके भने ८ मुलुक रित्तो हात फर्कनुपर्यो ।  यसपटक चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कांस्य गरी २ सय ८९ पदक जित्न सफल भयो । सन् १९८२ मा भारतको नयाँदिल्लीमा भएको एसियाली खेलकुददेखि चीन एसियाली खेलकुदमा दोस्रो हुनु परेको छैन ।

दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कांस्य गरी २ सय ५ पदक जित्यो । दक्षिण कोरिया र इन्डोनेसिया क्रमशः तेस्रो र चौथो भए ।  कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कांस्य गरी १ सय ७७ पदक जित्दा आयोजक इन्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कांस्य गरी ९८ पदक जित्यो ।

छिमेकीमुलुक भारत आठौँ हुँदा १५ स्वर्ण, २४ रजत र ३० कांस्य पदक जित्न सफल भयो । जसमा कुल २८ राष्ट्रले स्वर्ण जिते । १ रजत जित्न सफल नेपाल समग्र पदक तालिकाको ३३औँ स्थानमा छ । ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तान पनि रजतमै सीमित भएका हुन् । पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरियाले कांस्य पदक मात्र जित्न सके ।

प्रतिक्रिया