रेड स्टार झापालाई पाथीभरा गोल्डकप


ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले चुमेको छ । झापाकै न्यु स्टार क्लबलाई २–१ गोलअन्तरले हराउँदै रेड स्टारले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेलमा बराबरी भएपछि खेलको निर्णय अतिरिक्त समयबाट लिइएको थियो ।

रेड स्टारका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए । अतिरिक्त समयमा कर्नर पासमार्फत कप्तान कर्ण लिम्बूले गरेको गोल निर्णायक भएपछि रेड स्टारले उपाधि उचालेको थियो । न्यु स्टारका लागि विजय राईले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि सदुपयोग गर्न सकेनन् ।

प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः ३ लाख १ हजार १ सय ११ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको छ । विजेतालाई प्रतिनिधिसभा सदस्य योगेश भट्टराई लगायतले पुरस्कृत गरे ।

गत ८ भदौदेखि भएको प्रतियोगिता खेलकुदको माध्ययमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचारप्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले बताए ।

०२९ सालदेखि लाखे जात्राको अवसर पारेर प्रत्येक वर्ष खेल हुँदै आए पनि ०७४ सालदेखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो ।

प्रतिक्रिया